धरानः दुवै मृगौला खराब भई डायलोसिस गराइरहेका भोजपुरका एक युवालाई भोजपुर सुनसरी सेवा समाजका पदाधिकारीहरूले नगद सहयोग गरेका छन् ।

षडानन्द नगरपालिका १३ का २९ वर्षीय ज्ञानबहादुर श्रेष्ठलाई समाजका पदाधिकारीहरूले नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

‘ज्ञानबहादुर उपचार सहयोग समिति’ गठन गरी प्रारम्भिक चरणमा नगद १५ हजार रुपैयाँ हस्तान्तरण गरी अभियान शुरु गरेको बताइएको छ । धरानमा पत्रकार सम्मेलन गरी सहयोग रकम समाजका कार्यवाहक अध्यक्ष रेवतीरमण राईले पीडित श्रेष्ठ र उनका बुबा लीलाबहादुरलाई हस्तान्तरण गरे ।

समाजका पदाधिकारीबाट सङ्कलन गरिएको रकम हस्तान्तरण गरिएको समाजका कार्यवाहक अध्यक्ष राईले बताए । ‘संस्थागत रूपमा सहयोग गर्ने अवस्था छैन,’ उनले भने, ‘हामी कार्यसमितिका पदाधिकारहरूले यो रकम सङ्कलन गरेर प्रदान गरेका हौँ ।’ अभियानमा पत्रकार विनय प्रधानले पनि नगद १ हजार रुपैयाँ प्रदान गरेका थिए ।

पीडित श्रेष्ठको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको परिवारले जनाएको छ । हालसम्म ५ पटक मृगौलाको डायलोसिस गराएको बाबु लीलाबहादुरले बताए । चिकित्सकले हप्ताको २ पटक डायलोसिस गराउन सल्लाह दिए पनि प्रतिष्ठानमा भएको बिरामीका चापका कारण ३ सातामा मात्र पालो आउने गरेको उनले बताए ।

‘उपचारमा ढिलो हुँदा उसलाई गाह्रो भइरहेको छ,’ उनले भने, ‘डाक्टरले चाँडै ट्रान्सप्लान्टमा लानु भन्नुभयो । आफूसंग पैसा छैन । अलिअलि भएको पनि सकियो ।’ परिवारका अनुसार ज्ञानबहादुरलाई अहिले श्रीमतीले रगत दिइरहेकी छिन् । श्रीमतीले नै मृगौला पनि दिने तयारी गरेकी छिन् ।

हाल उनी धरान–१६ स्थित दिदीको घरमा बसेर उपचार गराइरहेका छन् । उनी भोजपुरको दुर सञ्चार कार्यालयमा करार कर्मचारीको रूपमा कार्यरत थिए ।

चिकित्सकले ज्ञानबहादुरको उपचारमा कम्तीमा १५ लाख रुपैयाँदेखि बढीमा ४० लाख रुपैयाँ लाग्ने बताएका छन् । आर्थिक अवस्था कमजोर रहेकाले देश विदेशसम्म पनि सहयोगको अपिल गरिने समाजले बताएको छ ।