विराटनगरः प्रदेश १ को नाम र स्थायी राजधानीको टुङ्गो लागाउने होमवर्क शुरु भइरहेको छ । यस्तो अवस्थामा ठूला दलका नेताले सदनलाई बन्धक बनाएर बहुसङ्ख्यक सांसदहरूमाझ अलोकप्रिय विराटनगरलाई स्थायी राजधानी बनाउन चलखेल हुन सक्ने सांसदहरूले बताएका छन् ।

बहुमत सांसदहरूले बोकेको जनमत र सदनमत विपरीत विराटनगरलाई स्थायी राजधानी तोकिए सांसदहरूले अस्वीकार गर्ने बताएका छन् । हालसालै धरानमा भेला भएका विभिन्न जिल्लाका सांसदहरूको भेलाले यस्तो निष्कर्ष निकालेको झापाका एक सांसदले बताए ।

मुख्यमन्त्री शेरधन राई बृहत्तर विराटनगरको नाममा विराटनगर, इटहरी, धरानसम्म मन्त्रालय, सदन र प्रदेश प्रमुखको कार्यालय राखेर राजधानी बाँड्ने पक्षमा भए पनि अन्य मन्त्री र केही ‘पावर सेन्टर’हरूले त्यसको विपक्षमा लबिङ गरेको भेलामा सहभागी एक सांसदले बताए । ती सांसदका अनुसार विराटनगर राजधानी बनेमा प्रदेशको शक्ति केन्द्र बन्ने दाउमा त्यहाँका व्यापारी र नेताहरू लागिपरेका छन । तर, सदनमा स्थायी राजधानीको मुद्दा प्रवेश गरेपछि पार्टीको ह्वीप भन्दा आफ्नै विवेक प्रयोग गर्ने लाइनमा अधिकांश सांसदहरू देखिएका छन् ।

‘जसरी मुख्यमन्त्री हुने धेरैले अङ्कगणित देखाएर भीम आचार्यको नाम लिए तर सांसदहरूले शेरधन राईलाई बनाए, त्यसरी नै यहाँ पनि नतिजा आउँछ’, ती सांसदले भने, ‘अब राजधानी तोक्ने विषयमा पनि सांसदहरूलाई अवमूल्यन गरिए विराटनगरमा राजधानी हुने सम्भावना हुन्न ।’

नेकपा र काङ्ग्रेसले खुलेरै विराटनगर राजधानी बनाउन उच्च स्तरीय निर्णय गरे जनताले प्रतिवाद गर्ने सांसदहरूको भेलाले निष्कर्ष निकालेको बताइएको छ । राजधानी र नामकरणको विषयमा सिण्डिकेट होइन, स्वतन्त्र सदन बहस हुनुपर्ने सांसदहरूको तर्क छ ।

धरान, इटहरी र विराटनगरलाई राजधानी करिडोर बनाउनुपर्ने नत्र धनकुटालाई राजधानी बनाउनुपर्ने सांसदहरूको भनाइ छ । राजधानीका मन्त्रालय, सदन र मुख्यमन्त्री लगायतका कार्यालयहरू विराटनगरमा हुनुपर्ने कुरामा अधिकांश सांसदहरू विपक्षमा छन् ।

भारतीय सिमानामै जोडिएको र प्रदेशको सबैभन्दा अपायक क्षेत्र विराटनगरलाई स्थायी राजधानी बनाउने कुरामा अधिकांश सांसदहरूको सहमति छैन । केही महिना अगाडि संसद भवन बनाउन विराटनगरमा बजेट छुट्याएको विषयमा पनि सांसदहरूले विरोध गरेका थिए । उनीहरूले हस्ताक्षर सङ्कलन गरेर स्थायी राजधानी नतोकुञ्जेल संसद भवनमा बजेट नहाल्न दबाब दिएका थिए । उक्त दबाबले पनि अधिकांश सांसदहरूमा स्थायी राजधानी विराटनगर नबनाउने पक्षमा रहेको देखाएको एक सांसद बताउँछन् ।

कोशी पाहाडका ती सांसदले नाम नबताउने शर्तमा भने, ‘फेरि पनि पहिले विकास क्षेत्र हुँदै क्षेत्रीय सदरमुकाम भएको विराटनगरलाई स्थायी राजधानी मान्ने हो भने केको सङ्घीयता ? अब नयाँ स्थानमा राजधानी हुनुपर्छ ।’