इटहरीः संघीय सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्थापना गरेको कोषमा रकम जम्मा गर्ने गरि सुरक्षामा खटिनेहरुको तलब काट्ने निर्णय गरेपनि प्रदेश नम्बर १ सरकारले भने १ करोड बढी रकम विनियोजन गरेको छ ।
कोरोना भाइरस बिरुद्वको अभियानमा अहोरात्र खटिरहेका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सबै जिल्ला सुरक्षा समितिहरुले खेलिरहेको भुमिकाको प्रशंसा गर्दै उच्च मनोबलका साथ थप सक्रियता र प्रभावकारीतामा वृद्धि ल्याउन प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले आग्रह गरे । उनले आज प्रदेश नम्बर १ का बासिन्दाहरुका नाममा सम्बोधन गर्दै अहोरात्र खटिरहेका सुरक्षा निकायहरुलाई प्रोत्साहन स्वरुप १ करोड ६८ लाख रुपैयाँ निकासा गरिएको जानकारी दिएका छन् ।
उनले स्थानीय तहलाई समेत कोरोना भाइरसको रोकथाम नियण्त्रण , उपचार र राहत वितरणका लागि प्रदेश नम्बर १ भरीका महानगरपालिका, उपमहानगरपालिका , नगरपालिका र गाँउपालिकालाई एक मुष्ट ९ करोड ५० लाख रुपियाँ छुट्टाएको बताए । उनका अनुसार सो बजेटबाट महानगरलाई २० लाख रुपैयाँ, उपमहानगरपालिकाहरुलाई १५ लाख रुपैयाँ, नगरपालिकाहरुलाई १० लाख र गाउँपालिकालाई ५ लाखका दरले बजेट प्रदान गरिने छ ।

जिल्लामा कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियण्त्रण र उपचार कार्यमा स्थानीय पालिकाहरु र स्थानीय प्रशासन संगको समन्वय र प्रभावकारी अनुगमन लगायतको भूमिकाको निम्ती प्रदेशका १४ वटै जिल्ला समन्वय समितिहरुलाई समेत पाँच पाँच लाखका दरले रु ७० लाख रुपैयाँ रकम पठाउने समेत ब्यवस्था मिलाइएको प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले बताए । उनका अनुसार यस भन्दा अगाडि प्रदेशका सबै सरकारी अस्पतालहरुलाई समेत ३ करोड रुपैयाँ बजेट निकासा गरिसकिएको छ ।

cm rai, pradeshportal.com 1
उनले कोरोना नियन्त्रणका लागि हालसम्म स्थानीय समुदाय, सामाजिक संघसंस्थाहरुले खेलेको भूमिका उल्लेखनीय रहेको बताए । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं कर्मचारीहरुको भुमिका र सक्रियता सराहनीय रहेको बताए । तपाईहरुको भूमिकाले यो महामारीलाई नियन्त्रण गर्न हामीलाई सफलता मिलिरहेको छ । उनले आफ्नो सम्बोधन मार्फत भने –‘हामीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरेका छौं ।’
कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी¸ सुरक्षाकर्मी¸एम्बुलेन्स चालक¸ निजामती कर्मचारी वा अन्य कुनै पदाधिकारीको त्यसरी खटाएको अवस्थामा कोरोना संक्रमित भइ मृत्यु भएमा निजको परिवारलाई निजले गरेको सेवाको कदर स्वरुप प्रदेश सरकारको तर्फबाट एकमुष्ट ५० लाख रुपैयाँ प्रदान गर्ने यसअघि नै निर्णय गरेको जानकारी पनि उनले दिए ।