इटहरी / इटहरीको विपी चौकमा रहेको कलश बचत तथा ऋण सहकारीमा इटहरीको फुलबारी टोलका हिरा दासले श्रीमतीको नाममा २०७१ भदौ ३ गतेबाट नियममित बचत गरे । आफ्नी श्रीमती हिरा दासको नाममा नियमित सय रुपैयाँ बचत गरेका दासले सोही वर्षको माघ २ गते ऋण लिए । ऋणबापत दासले १ लाख रकम लिएर एक वर्ष भित्र नियमित किस्ता तिरेर ऋण चुक्ता गरे । एक वर्षको ऋण चुक्ता गरेको पास बुकको प्रमाण भएका दासले पुनः दुई लाख ऋण लिए ।
सो ऋणको पनि दासले २०७४ सालको असोज १ गते नियमित किस्ता बापत २ लाख ४५ हजार तिरेर चुक्ता गरे । तर, अहिले सहकारीका व्यवस्थापक मन बहादुर तामाङले तिरिसकेको ऋणमा पनि थप ३ लाख ३१ हजार ५ सय तिर्न छ भनेर भन्न थाले । तिरेको ऋणप्रति व्यवस्थापक तामाङले फेरिपनि तिर्ने नै देखाएपछि दासले कलश सहकारीको कार्यालयमै गएर आफूले तिर्नुपर्ने स्टेटमेन्ट मागे । आफूले तिरेको ऋण पुनः तिर्नुपर्ने देखिए पछि चकित बनेका दास एकै ऋणको भिन्नभिन्न स्टेटमेन्ट देखेर थप चकित परे । जस्तो, २०७२ माघ ८ मा कर्मचारी रिता चौधरीले दिएको स्टेटमेन्टमा ५ लाख ९२ हजार ८४ तिर्नुपर्ने देखियो । ३ लाख ७४ हजार ६६ रकमको ऋण देखाएको शुल्क तिर्नुपर्ने स्टेटमेन्ट देखेर दास तनावमा परे । दासले सोही मितिमा व्यवस्थापक मन बहादुर तामाङसँग पनि स्टेटमेन्ट मागे । जसमा ६ लाख २ सय ८४ रकम ऋण बापत तिर्नुपर्ने देखाइएको छ । २ लाख ६९ हजार ५ सय ६६ रकम ऋण लिएको भन्दै दासलाई त्यस्तो स्टेटमेन्ट दिइयो । फेरि दासले कर्मचारी रिता चौधरीसँग स्टेटमेन्ट मागे । जसमा अघिल्ला दुई स्टेटमेन्ट भन्दा फरक ऋण लिएको र तिर्नुपर्ने रकम देखाइयो । यो पटक दासलाई ३ लाख ७४ हजार ६६ रकम ऋण लिएको भन्दै ५ लाख ६७ हजार ३ सय ८३ रकम तिर्नुपर्ने देखाइयो ।
यसरी तिरेको ऋणको पुनः ऋण भनेर देखाएको र एकै दिन एकै प्रकारको स्टेटमेन्टमा फरक फरक कुराहरू आएको भन्दै दासले गुनासो गरे । गुनासो गर्दा व्यवस्थापक मन बहादुर तामाङले अब ७ लाख ५० हजार तिर्नु रहेको भन्दै दासलाई थप यातना दिएको पीडित बताउँछन । इटहरीको इलाका प्रहरीमा दिएको उजुरी उपर सुनुवाइ नभएपछि दासले सुनसरी जिल्ला अदालतमा आफूमाथि वित्तीय अपराध गरेको भन्दै मुद्दा हाले । मुद्दा हाल्दा आफूले गल्ती नगरेको प्रमाण देखाउन अदालतमा कलशका व्यवस्थापक तामाङले दिएको ऋण खाएको बिलबाट दास झनै झस्के । उनको किर्ते हस्ताक्षर गरेर ३ लाख ऋण लिएको कागजमा देखेपछि दास झनै तनावमा परे । तर, आफूले त्यत्रो रकम नलिएको तर किर्ते गरेर धेरै रकम देखाइएको भन्दै दासले गुनासो गर्दा व्यवस्थापक तामाङले धाकधम्कि देखाएको दास गुनासो गर्छन् । भन्छन, ‘मैले ऋण तिरेको पासबुक र अन्य सबुत हुँदापनि किर्ते गरेर फसाइयो अनि किन यसो गरेको भन्दा उल्टै थर्काउँछन ।’ दासमात्रै हैन अम्बर बहादुर बानिया र तुलामाया राउत (बानिया) दम्पतीलाई पनि कलश सहकारीले ठगेको पाइएको छ । आफूले तिरेको ऋणलाई पनि नतिरेको किर्ते बनाएको र जरिवाना भनिएको रकमलाई पनि सावाँमा गाभेर ब्याज देखाइएको बानिया दम्पती बताउँछन ।
अम्बरले त ५० हजार ऋण लिएकोमा १ लाख ३१ हजार तिर्न भनेर विभिन्न किर्ते हिसाब देखाएको गुनासो गर्छन् । आफूले नियमित बचत र किस्ता तिरेको भए पनि पास बुक लुकाएर आफूलाई ठगिएको बानियाले बताए । बानियाले आफूले गुनासो गर्दा आफ्नो किराना पसलमा आएका हुलहुज्जत गर्दै अपाच्य र अश्लील गालिगलौज गरेको पनि गुनासो गरे । दास, बानिया मात्रै हैन अन्य थुप्रै बचतकर्ताहरुले पनि आफूहरूलाई कलशले ठगेको गुनासो गरेका छन् । सहकारीले मनपरी गरेको भन्दै दर्जनौँ सेवाग्राहीले गुनासो गर्न थालेका छन् । सोझा सिधा बचत तथा ऋण लिएका सर्वसाधारणहरूलाई आफूखुसी हिसाब देखाएर सहकारीले सेवाग्राहिलाइ समस्यामा पारेको गुनासो आउन थालेको छ । आफूखुशी लोन लिएको कागज बनाउने, किर्ते हस्ताक्षर गर्ने र जरिवानालाई पनि सावाँ बनाएर ब्याजको भारी बोकाएको भन्दै सेवाग्राहिहरुले गुनासो गरेका छन् । बचतकर्ताहरुको ब्याजदर पनि आफूखुशी गरेको पाइएको छ । यसरी आफ्नो सहकारीका बचतकर्ताहरुलाइ नभएको आर्थिक शोषण गरेका आरोप लागेका व्यवस्थापक मन बहादुर तामाङ आफै पनि कुनै एक सहकारीको ऋण नतिरेर खराब सूचिमा परेको भेटिएको छ । पूर्वी बजारलाई प्राप्त एक दैनिक पत्रिकाको विज्ञापनमा २०५४ साल भदौ २० गते ऋण लिएर तामाङले नतिरेको भेटिएको छ ।
तामाङले इटहरीको वडा नम्बर ५ (ख)मा १९२० कित्ता नम्बरको जग्गा राखेर लिएको ऋण नतिरेको भन्दै पत्रिकामा फोटो सहितको विज्ञापन आएको पनि प्रमाण फेला परेको छ । सेवाग्राहिका गुनासाहरु र एकै मितिका स्टेटमेन्टमा फरक फरक आर्थिक बिबरण र किर्ते हस्ताक्षरको अरोप बारेमा व्यवस्थापक तामाङलाइ सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेन ।