इटहरीः इटहरी उपमहानगरले निर्माण गरि संचालनमा ल्याएको क्वारेन्टाइनलाई इटहरीका एक व्यवसायीले ५० थान तातो पानी तताउने इलेक्ट्रिक जग उपलब्ध गराएका छन् ।
इटहरी स्थित विराटनगर लाइनमा संचालित रिद्दिसिद्दी ट्रेड लिंकले ३० हजार मुल्य बराबरका ५० थान जग प्रदान गरेको हो । सो लिंकका प्रोप्राइटर अजय अग्रवालले ती जग आज इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमलाई हस्तान्तरण गरेका छन् ।
अग्रवालबाट प्राप्त जगलाई आजै जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा पुर्याइने उपमेयर गौतमले बताइन् । जगबाट क्वारेन्टाइनमा बस्नेहरुलाई आफै तातो पानी र चिया बनाएर खान सहज हुने उपमेयर गौतमले बताइन् । यसअघि सो क्वारेन्टाइनलाई लायन्स क्लब अफ इटहरीले ७० हजार बराबरको लुगा धुने वासिगं मेसिन प्रदान गरेको थियो । इटहरीको जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइ उपमेयर गौतमको पहल र नेतृत्वमा इटहरीका सहयोगी मनहरुबाट आवश्यक सामाग्रीहरु सहयोग लिई निर्माण गरिएको थियो ।
क्वारेन्टाइन निर्माणका लागि सहयोग गर्ने सहयोगी मनहरुलाई उपमेयर गौतमले नगरपालिकाको तर्फबाट पुनः धन्यवाद दिएकी छन् । इटहरीको क्वारेन्टाइनमा ११ भारतीय र ५ नेपाली सहित यतिबेला १६ जना बसेका छन् । उनिहरुलाई इटहरी अस्पतालका स्वास्थ्यकर्मीहरुको निगरानीमा १४ दिनसम्म राखिने उपमेयर गौतमले बताइन् । उनका अनुसार क्वारेन्टाइनमा बसेका र शंका लागेका अन्य स्थानका नगरवासीहरुमा र्यापिड टेष्ट आजबाट शुरु समेत गरिने उपमेयर गौतमले बताइन ।