इटहरीः नेपाल सरकारले कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न चैत्र १२ गतेबाट देशैभर लकडाउन गरेको छ । यो लकडाउन अझै केही समय बढ्ने निश्चित छ । कोरोना भाइरसका कारण महाशक्तिशाली राष्ट्र अमेरिकासंगै विश्वभरी नै १ लाख २० हजारको हाराहारीमा मानिसहरुको मृत्यु भईसकेको छ ।
यो भाइरसको प्रभाव प्रतिदिन छिमेकी मुलुक भारतमा बढीरहेको छ । भारतमा अहिलेसम्म ३ सय ५८ जनाको मृत्यु भइसकेको छ । १० हजार माथि संक्रमित भइसकेका छन् ।
नेपालमा पनि यो भाइरसको संक्रमण देखिएको छ । मंगलबारसम्म १६ जनामा यो संक्रमण देखिएको छ । थप एक जनामा यसको आशंका गरिएको छ र उनलाई अस्पताल भर्ना गरिएको छ । एक जना निको पनि भइसकेका छन् । अन्यको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
लकडाउनका कारण मुलुकका साना ठुला कुलकारखाना, उद्योगधन्दा, ब्यबसाय, निजी तथा सरकारी शिक्षण संस्था बन्द छन् । यसको असर नेपाल मात्र नभई विभिन्न देशमा नसोचिएको तरिकाले परिरहेको छ ।
कोरोना भाईरसले मान्छेको मृत्यु हुन्छ तर जब कोरोना नेपाल भित्रिएको हल्ला चल्यो तब सरकारले नेपाललाई लकडाउन गर्यो । यसको प्रत्यक्ष सकारात्मक असर मृत्यु भएका मानिसहरुको शब सम्म देखा परेको छ ।
विगतका महिनाहरुमा नेपालका अधिकांश मृत्यु भएका मानिसहरुको शब जलाउने घाट (शब जलाउने स्थान) अहिले सुनसान जस्तै भएका छन् । यसको एक उदाहरण हो, इटहरीमा रहेको गंगा जमुना मुक्तिघाट ।
यस स्थानमा कोरोनाको संन्त्रास नेपालमा फैलनु अघिको महिना भन्दा यता शब आउने संख्या ह्वात्तै घटेको छ । फागुन महिनाको रेकर्डमा आएका शबलाई हेर्दा चैत्र महिनामा ५० प्रतिशतभन्दा कम संख्यामा शब मुक्तिघाट आएको मुक्तिधाम विकास क्षेत्रका अध्यक्ष हेम घिमिरे बताउँछन् । उनका अनुसार सरदर एक महिनाको अबधिमा १२० जनाको हाराहारीमा मुक्तिघाटमा शब आउने गरेको थियो । उनले शब हटेर आउनुको पछाडी के कारण हो ? यो खोजीको बिषय बनेको बताए ।
कति घटे शब ?
अध्यक्ष घिमिरेका अनुसार लकडाउन सुरु हुनुभन्दा पहिले दैनिक औसतमा ५ वटा शव मुक्तिघाट आउने गरेको थियो । चैत्र १२ गतेबाट सरकारले नेपालभरी लकडाउन गरे यता मुक्तिघाटमा न्यूनतम २÷३ वटासम्म मात्रै शव आइरहेको घिमिरेले बताए ।
उनका अनुसार मुक्तिघाटमा पौषमा ९०, माघमा १०३ फाल्गुनमा १३० शब जलाउन ल्याएका थिए । चैत्र महिना भने ४९ जनाको मात्र शब आएको छ ।
शब कम आउनुमा सवारी दुर्घटनामा कमि
लकडाउन अघिसम्म ट्राफिक प्रहरी प्रदेश एक इटहरीको रेकर्डमा सवारी दुर्घटनामा परि दैनिक रुपमा सरदर २ देखि ३ जनाको मृत्यु हुने गरेको थियो । यसमा पनि सुनसरी, मोरङ र झापामा बढी सवारी दुर्घटना हुने गरेका थिए । सवारी दुर्घटनामा परी मृत्यु हुनेको संङ्या अन्य जिल्लाको तुलनामा बढी नै हुने गरेको छ ।
तर जब सरकारले देशभरी नै लकडाउन घोषणा गर्यो, सो समय यता सवारी दुर्घटनामा परि मृत्यु हुने मानिसहरुको संख्या ज्यादै न्यून रहेको छ । सोही कारणपनि सुनसरी र मोरङका स्थानबाट कम शब मुक्तिघाट आउने गरेको बताइएको छ । प्रदेश एकको सुनसरी र मोरङमा लकडाउनका कारण सवारी दुर्घटनामा कमि आएको र यसको सकारात्मक प्रभाव मुक्तिघाटमा पनि परेकाले शब आउनेको संख्यामा कमि आएको अध्यक्ष घिमिरेको भनाई छ ।
प्रहरीले सवारी तथा अन्य क्षेत्रमा कडाई गरे सगैं विभिन्न क्षेत्रका शब यस क्षेत्रमा नल्याई नजिकैका पायक पर्ने क्षेत्रका शब जलाई दाहसंस्कार गर्ने भएकाले पनि इटहरीको मुक्तिघाटमा शब जलाउने संङ्यामा कमि आएको अध्यक्ष घिमिरेको बुझाई छ ।