इटहरीः देशकै ठूलो प्लान्ट राखेर मनसा थाइ फुुड्सले झापाबाट नयाँ ब्राण्डको चाउचाउको उत्पादन थालेको छ । कम्पनीले पत्रकार सम्मेलनमार्फत् करिब १ सय करोडको लागतमा नयाँ चाउचाउ उत्पादन शुरु गरेको जानकारी दिएको छ ।
मेचीनगर १४ दुुवागढीमा रहेको उद्योगले मुलुकभर र छिमेकी मुलुक भारतमा चाउचाउको बजार बिस्तार गर्ने लक्ष्य राखेको छ । आगामी दिनमा अमेरिका र अष्ट्रेलियामा समेत चाउचाउ निर्यात गर्ने तयारी गरेको कम्पनीका सञ्चालक गणेश प्याकुुरेलले जानकारी दिए ।
कम्पनीले देशकै ठूलो प्लान्ट जडान गरेको दाबी गरेको छ । ‘नेपालमा अहिलेसम्म यत्तिको ठूलो क्षमताको प्लान्ट छैन’, प्याकुुरेलले भने, ‘हामीले पूर्ण क्षमतामा प्लान्ट सञ्चालन गर्दा ७ लाख ५० हजार प्याकेट चाउचाउ उत्पादन हुन्छ ।’
कम्पनीले ३ सय जना व्यक्तिले रोजगारी पाउने बताएको छ । मनसा थाइ फुड्स प्रालिले मगमग चाउचाउसहित अन्य उत्पादन पनि शुरु गरेको छ । अन्य उत्पादनमा प्यारी, रेलिमाई, गट्बट चाउचाउसहित स्न्याक्सहरूमा चिजरिङ, कुटुकुटु, पोट्याटो क्र्याकर, क्रोन फ्ल्याक्स र चोकोस रहेका छन् । उद्योग व्यवस्थापनले वातावरणमैत्री र स्वच्छ उद्योग रहेको जानकारी दिएको छ ।
ब्राण्ड एम्बेसडरमा धुुर्मुस र सुन्तली
कम्पनीले आक्रामक बजार बिस्तारको योजना अघि सारेको छ । जसका लागि चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता धुुर्मुस सुन्तलीलाई ब्रान्ड एम्बेसडर बनाएको छ । एम्बेसडरले कम्पनीको उत्पादनको प्रचार गर्नुुका साथै कम्पनीले गर्ने सामाजिक दायित्वमा समेत सहभागिता जनाउने बताइएको छ ।