धरानः ‘बन्द कसको हो ? मङ्गलबार भएको बन्दबारे अनभिज्ञता प्रकट गर्दै धनकुटा–२ भीरगाउँकी उमा बस्नेतले प्रश्न तेस्र्याइन । भानुचोकको प्रतीक्षालयमा बसेकी बस्नेतजस्ता यात्रुहरूले मङ्गलबारको बन्दबारे यसरी नै अनभिज्ञता प्रकट गरे ।
अचानक भएको बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधन नचल्दा बीपी प्रतिष्ठानबाट उपचारपछि फर्किएकी बस्नेत अलपत्र परिन् । भएको पैसा उपचारमा खर्च भएपछि बेर्खचीझँै उनी सार्वजनिक बसको प्रतीक्षामा थिइन् । भनिन्, ‘बन्द भन्ने नै थाहा थिएन । हिजो एक्कासी बिरामी भएर अस्पताल आएका थियौं । अहिले यहाँ आइपुग्दा बन्द रै’छ ।’ उनको साथमा छोरा पनि थिए ।
त्यस्तै अलपत्र पर्नेमा धनकुटा हिलेस्थित प्राविधिक शिक्षालयका कर्मचारी अवैधचन्द्र ठाकुर पनि थिए । दिउँसो १२ बजे भेटिएका उनी २ घण्टादेखि गाडीको प्रतीक्षामा बसेको बताउँथे । उनलाई पनि कसको बन्द हो भन्नेसम्म ज्ञान थिएन । ‘जाउँ भने गाडीवालहरूले महङ्गो भाडा भन्दैछन्’, उनले भने ।
यात्रुवाहक सवारीको प्रतीक्षामा बस्नेत र ठाकुरमात्रै होइन तेह्रथुम जिरीखिम्तीका गोविन्द कार्की पनि थिए । उनी पनि ४ घण्टादेखि गाडीको पर्खाइमा थिए । ‘बिहानदेखि गाडी पर्खिरहेको छु, अब साथीको गाडीमा वसन्तपुरसम्म जान्छु,’ कार्कीले भने । गाडीको पर्खाइमा उनीहरूजस्तै धेरै यात्रु भानुचोकमा थिए । उनीहरू कसरी गन्तव्यमा जाने भन्ने चिन्तामा थिए ।
माओवादी पूर्व जनमुक्ति सेना र सार्वजनिक गाडीका चालकहरूले गरेको बन्दको मारमा उनीहरूजस्ता सर्वसाधारण परेका थिए ।
धरानबाट छुट्ने छोटो तथा लामो दुरीका यातायात ठप्प हुँदा सयौं यात्रु अलपत्र परेका थिए । पहाडी रुटमा सञ्चालन हुने अधिकांश बस नचल्दा यात्रुहरू अप्ठ्यारोमा परेका थिए । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले मङ्गलबारको बन्द माओवादी पूर्व जनमुक्ति सेना पार्टीले गरेको बताए । बन्दका कारण धरानबाट चल्ने करिब ८ सय सवारी साधन ठप्प बनेको पूर्वाञ्चल यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज श्रेष्ठले बताए ।
माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालका अध्यक्ष रञ्जित गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्याय र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायत नेपाल कम्युनिष्ट पार्टीका कर्यकर्ताको रिहाइको लागि बन्दको आह्वान गरेको उल्लेख छ । उता, प्रदेश नम्बर १ चालक समूहले पनि विज्ञप्ति जारी गरी मङ्गलबार बन्दको आह्वान गरेको थियो ।
सरकारले हालै जारी गरेको ऐनमा सवारी चालकको लापरवाहीका कारण कसैको मृत्यु भएमा चालकहरूलाई जन्मकैदसम्मको सजाय तोकिएको छ । ऐनमा व्यवस्था भएको सोही सजायको विरोधमा चालकले बन्दको आह्वान गरेको बताइएको छ । तर, नेकपा सम्बद्ध चालक समूहले अर्को विज्ञप्ति जारी गर्दै आफूले बन्द नगरेको स्पष्ट पारेको छ ।