आज संविधान दिवस हो । जनताले आफ्ना लागि आफैंले संविधान लेखेको आज ३ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ घोषणा भई कार्यान्वयनमा आएको थियो । नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले हस्ताक्षर गरेपछि संविधान अनुमोदन भएको थियो ।
जनताले चुनेका प्रतिनिधिमार्फत् संविधान लेखिनुपर्ने जनताको माग ६५ वर्षपछि पूरा भएको थियो । राणाशासनको अन्त्यसँगै संविधान सभाबाट संविधान लेख्ने नेपाली जनताको चाहना अन्ततः राजसंस्था अन्त्यसँगै पूरा भएको थियो । तत्कालीन कायम सभासदमध्ये दुई तिहाइ सभासदले संविधानमा सहमति जनाएका थिए । ५ सय ९८ जना सभासदमध्ये ५ सय ७ जनाले पूर्ण सहमति जनाएका थिए । २५ जना सभासदले असहमति जनाएका थिए भने ६६ जना सभासदले बहस नै बहिष्कार गरेका थिए ।
सोही संविधानका अधीनमा रही देश अहिले सङ्घीय संरचनामा गएको छ र सङ्घ, प्रदेश र स्थानीय सरकार गरी ३ वटा सरकार सञ्चालनमा रहेका छन् ।