इटहरीः संविधान दिवसको अवसरमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले देश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश व्यक्त गर्दै राईले वर्तमान संविधानले तिनै तहका निर्वाचन सम्पन्न भएर राज्य सञ्चालनका संवैधानिक र कानुनी व्यवस्था एवम् लोकतन्त्रका संरचनालाई थप संस्थागत र सुदृढ गरेको विश्वास आफूले लिएको उल्लेख गरेका छन् ।

आजको दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा दिने र सबै नेपाली यसप्रति सङ्कल्पित हुने आफूले विश्वास लिएको पनि उनले उल्लेख गरेका छन् ।

subhkamana

राजनीतिक सङ्क्रमणकाल समाप्त भएको वर्तमान परिप्रेक्ष्यमा कृषिको आधुनिकीकरण, पर्यटन, वातावरण संरक्षण, पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा प्रदेश सरकार केन्द्रित रहेको उनले उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु भनी उनले उल्लेख गरेका छन् ।