झापाः रेबिज नियन्त्रण कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिकाले नगरक्षेत्रभित्रका सडक तथा सामुदायिक कुकुर नियन्त्रणका लागि ५ दिने अभियान मङ्गलबारबाट शुरु गरेको छ ।
अभियानका लागि हिमालय एनिमल रेस्क्यु ट्रष्ट पोखराबाट चन्द्र राईको नेतृत्वमा ३ जना पशु चिकित्सकसहित १३ जनाको टोली सक्रिय रहेको छ । अभियानका बारेमा जानकारी दिँदै टोली प्रमुख राईले सडक कुकुरको सङ्ख्या कम गर्न सके रेबिज त्यसै नियन्त्रण हुने बताए ।
टोलीमा पशु चिकित्सकहरू विशाल चौधरी, समीर थापा र गोपाल देव तथा पशु प्राविधिक २ जना र कुकुर पक्रनका लागि ८ जना जनशक्ति परिचालन गरिएको छ । दैनिक ४० वटा कुकुरको बन्ध्याकरण गरिने योजना भएको बताइएको छ ।
टोलीले मङ्गलबार मेचीनगर–९ खुट्टीडाँगी तथा अन्य वडाका सडक तथा सामुदायिक कुकुर नियन्त्रणमा लिएर बन्ध्याकरण गरेको थियो । यो अभियानको मुख्य उद्देश्य नै रेबिज नियन्त्रण तथा कुुकरको सङ्ख्यामा वृद्धि हुन नदिनु रहेको टोली प्रमुख राईले बताए ।
बुधबार काँकरभिट्टा र इँटाभट्टा तथा बिहीबार धुलाबारी र धाइजनमा अभियान चलाइने बताइएको छ । शुक्रबार सिर्जनाचोक, गिरी गाउँ, गोमनसरी ज्यामिरगढीको वडा नम्बर १५ को वडा कार्यालय तथा शनिबार बाहुनडाँगी र भृकुटी बजारमा अभियान चलाइने नगरपालिकाले बताएको छ ।
पशुपंक्षी स्वास्थ्य शिविरबाट किसान लाभान्वित
यसैगरी, मेचीनगरका पशुपंक्षी पालक किसानहरूलाई मध्यनजर गरी पहिलो पटक भएको २ दिने निःशुल्क पंक्षी तथा पशु स्वास्थ्य शिविरबाट सयौँ किसान लाभान्वित भएका छन् ।
हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एण्ड टेक्नोलोजी हिकाष्ट काठमाडौँको प्राविधक सहयोग र धुलाबारी माध्यमिक विद्यालयको सहआयोजना शिविर सम्पन्न भएको हो ।