इटहरीः वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा कार्यरत रहेका ६ जना नेपालीको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको छ । अरु १६ जना नेपाली बिरामी भएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । मलेसियाको सेलाङ्गोर राज्यका विभिन्न स्थानमा कार्यरत उनीहरूको विषाक्त मदिरा सेवनपछि मृत्यु भएको दूतावासको भनाइ छ ।
मलेसियाको समयअनुसार हिजो बेलुकी ६ बजे घटना बाहिरिएपछि सेलाङ्गोर राज्यको प्रहरी मुख्यालयमा सम्पर्क गरी घटनाको बारेमा जानकारी लिएको दूतावासले जनाएको छ । धेरै बिरामी भर्ना भएका कजाङ र सुङ्गाइबुलो अस्पतालको स्थलगत भ्रमण गरी उपचाररत नेपालीको स्वास्थ्यस्थिति बुझ्ने काम भएको पनि दूतावासले जनाएको छ ।
दूतावासका अनुसार पोष्टमार्टम तथा अन्य आवश्यक अनुसन्धान प्रक्रियापछि मृतकहरूको शव सम्बन्धित रोजगारदाता कम्पनीको सहयोगमा नेपाल पठाइने बताइएको छ । मृत्यु हुनेको विस्तृत पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेको दूतावासले जनाएको छ । यससम्बन्धी नयाँ जानकारी प्राप्त हुनासाथ जनाकारी गराइने दूतावासले जनाएको छ ।
को को परे १ नम्बर प्रदेशका
मलेसियास्थित नेपाली राजदूतावासले आज जारी गरेको प्रेस वक्तव्यमा जनाइएअनुसार मृत्यु हुनेमा साबिक पश्चिम कुशाहा–९ सुनसरीका सञ्जय उराव र साबिक सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ रहेका छन् ।
दूतावासका अनुसार साबिक सिद्धकाली–४ सङ्खुवासभाका लुङ्गनाथ मगर र साबिक महेन्द्रनगर–६ सुनसरीका दुर्गाबहादुर राईको डिस्चार्ज भइसकेको छ । साबिक चोकमागु–६ पाँचथरका सेतवीर तुम्बापो र साबिक बबियाबिर्ता–३ मोरङका जम्बिरलाल झाँगड भने उपचाररत रहेका छन् ।