इटहरीः संविधान निर्माण भएको ३ वर्ष पूरा भएको छ । संविधान निर्माणकै बखत मधेस केन्द्रित तथा साना दलहरू विरोधमा उत्रिएका थिए । कतै दीपावली भइरहँदा कतै टायर बलरहेको थियो ।

संविधान निर्माणपछि साना दलहरूले आन्दोलन व्यापक बनाए । मुलुकले नाकाबन्दीको सामना गर्नुपर्यो । मधेसी र पहाडी भनेर भावनात्मक विभाजनको स्थिति सिर्जना भयो । तर संविधान जारी भएपछिको स्थानीय तह, प्रदेश र सङ्घीय संसदको निर्वाचनले विभाजनको रेखा मेटायो । र अन्ततः संविधान विरोधी दलहरू समेत सामेल भएर निर्वाचन सफल भयो ।

अझैसम्म पनि साना दलका नेताहरूले भने संविधान सर्वस्वीकार्य नभइसकेको बताउँदै आएका छन् । प्रदेश नं १ का साना दलका प्रदेश सांसदहरूले यो संविधानले जनताको भावनामाथि नै खेलबाड गरेको बताउँदै आएका छन् ।

jayaram

सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं १ को संसदीय दलका नेता जयराम यादव यो संविधान अझैसम्म सर्वस्वीकार्य नभएको बताउँछन् । सम्पूर्ण नेपालीको भावनाको प्रतिनिधित्व गर्न नसकेका कारण यो संविधान संशोधनको विकल्प नरहेको उनको भनाइ छ । ‘हुन त संविधानले देश चल्ने हो तर यहाँ नेताको मनको आधारमा देश चलिरहेको छ,’ उनी भन्छन्, ‘यो संविधान संशोधन नभएसम्म हामी यसको विरोधमै रहन्छौा । हामी पनि यही देशका नागरिक हाँै तर हामीले यो संविधानमा अपनत्व महसुस गर्न सकिरहेका छैनौँ ।

त्यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि संविधानको सर्वस्वीकार्यतामा प्रश्न उठाएको छ । सो पार्टीकी प्रदेश नं १ की सांसद विष्णु तुम्बाहाम्फेले संविधानको पूर्ण विरोध भन्दा पनि आंशिक विरोध गरेको बताएकी छिन् ।

धारा २७४ ले सङ्घीयताको मर्म र भावनालाई समेट्न नसकेको भन्दै उनले उक्त धारा खारेजीको माग गरेकी छिन् । सो धारामा प्रदेश सभाको बहुमतको आधारमा प्रदेशको नाम र राजधानी तोक्ने कुरा उल्लेख गरिएकाले यो आफूहरूलाई अमान्य रहेको उनको भनाइ छ । ‘त्यसको लागि हामी आन्दोलन जारी राख्छाँै,’ उनी भन्छिन्, ‘यो अपुरो र अधुरो संविधान भएकाले संविधान दिवस मनाउनुपर्ने जरुरत छैन ।’

उनको जस्तै भनाइ छ राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद हरिदेवी राईको पनि । यो संविधानले नेपालको अस्तित्वमा नै खेलबाड गरेको उनको आरोप छ । नेपालको अस्तित्व बचाउने धर्म र संस्थाको विरुद्धमा संविधान रहेको उनको आरोप छ । तर एक दिन जनताले सही र गलत निर्णय गर्ने भएकाले आफूहरू नआत्तिएको उनी बताउँछिन् ।