इटहरीः सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ वटा कस्तुरी पासोमा झुण्डिएको अवस्थामा स्थानीय एक महिलाले फेला पारेका छन्। आइतबार दिउँसो पूजा गर्न मालिङगो काट्न जाँदा ६ वटा कस्तुरी पासोमा भुण्डिएको र विना निकालिएको अवस्थामा फेला परेको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए।
सगरमाथा निकुञ्ज क्षेत्रको संरक्षित मध्येको मुख्य वन्यजन्तुमा कस्तुरी हो। तर सरकारले करिब ६० बढी कर्मचारी र नेपाली सेना खटाएर कडा सुरक्षा दिँदै आए पनि वर्षे्नि पासो थापेर बन्यजन्तुको सिकार गर्ने गरेको पाइएको छ।
स्थानीयबासीलाई निकुञ्ज क्षेत्रमा प्रवेश निषेध गरेको छ। वर्षमा १५ दिन पुस महिनामा सडापडा निकाल्न समय दिने गर्छ, त्यसबाहेक स्थानीयलाई जंगल प्रवेशमा कर्मचारी र सेनाले अनुमति नदिने गरेको अध्यक्ष अधिकारीले बताए। तर कडा सुरक्षाबीच स्थानीयले आइतबार खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ र ५ को बीचमा दुई सय मिटर क्षेत्रबाट ५४ वटा पासो र ६ वटा कस्तुरी फेला पारेको छ।वन्यजन्तुको संरक्षणको जिम्मा पाएको सरोकार पक्षले वेवास्ताले गर्दा पासोको जालो जंगलमा फैलिएको स्थानीयबासीको आरोप छ। २०६४ ताका मकालु राष्ट्रिय निकुञ्ज क्षेत्रमा १ सय २५ वटा पासो कर्मचारीले बरामद गरेको थियो। तर, पछि अनुसन्धानका क्रममा निकुञ्जकै कर्मचारी संलग्न भएको पाइएपछि घटनालाई गुपचुप राखेको थियो।
सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा नेपाली सेना र निकुञ्जका कर्मचारीले गस्ती चलाउँदा कसरी जंगलभरि पासो थाप्न सक्ला भन्ने प्रश्न उठेको छ। निकुञ्जको संलग्नता विना यो काम सम्भाव नहुने स्थानीयबासीले आरोप लगाउँदै आएको छ। तत्काल छानबिन गरी दोषी उपर कारबाही गर्न गर्न स्थानीयले मागसमेत गरेको छ। अध्यक्ष अधिकारीले निकुञ्जका प्रमुखसँग चोरी सिकारीलाई नियन्त्रणमा कडाइ गर्न अनुरोध गरेको तर समन्वय नगरेको आरोप छ।
घटनास्थल पुगेका वडाअध्यक्ष अधिकारीका अनुसार १ कस्तुरीको विना निकाल्न नभ्याएको, २ वटाको निकालेर पुरेको र ४ वटा पासोमा झुण्डिएकै अवस्थामा विना निकालिएको भेटेका थिए। घटनाको अवस्था हेर्दा करिब एक महिनाअघि यस्तो भएको हुनसक्ने बताए।
निकुञ्जले दुई वर्षअघि ४० जनाभन्दा बढी गेमस्काउट थप गरी दरबन्दी पूरा गरेको थियो, त्यसअघि ७ जना गेमस्काउटले काम गर्दै आएका थिए। तर कर्मचारी थप भए पनि चोरी सिकारी झन् बढेको पाइएको तथ्याङ्कले देखाएको छ। नेपाल न्यूजबाट