इटहरीः लकडाउन पछि समायोजन हुने गरि इटहरी खानेपानी उपभोक्ता संस्थाले इटहरी भरीका आफ्ना १७ हजार २ सय ८० उपभोक्ताहरुलाई पानीको महसुलमा छुट दिने निर्णय गरेको छ ।
एक महिनाको न्यूनतम शुल्क १० यूनिटको १ सय ३० छुट दिने निर्णय गरेको हो । बुधबार बसेको संस्था कार्यसमितिको बैंठकले यस्तो निर्णय गरेको संख्थाका अध्यक्ष रामप्रसाद चौलागाईद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैंठकपछि संस्थाका अध्यक्ष चौलागाईले जारी गरेको प्रेस विज्ञप्ती अनुसार १० युनिटको १ सय ३० रुपिँया छुट दिइएको रकम बन्दाबन्दी(लकडाउन) पछि रिडिङ हुने महिनामा समायोजन गरिने उल्लेख गरिएको छ । यो खालको छुट ०७७ असार मसान्तसम्म महशुल भुक्तानी गरिसक्ने उपभोक्ताहरुका लागि मात्र दिईने जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
०७६ चैत्रदेखि ०७७ बैशाख महिनाको पानी महशुलमा ०७७ अषाढ मसान्तसम्म भुक्तानी गर्दा कुनै हर्जना नलिने निर्णय पनि बैंठकले गरेको छ । ०७६ फागुन महिनासम्मको महशुल तिर्न बाँकी रहेका उपभोक्ताहरुको हकमा ०७७ अषाढ मसान्तसम्ममा सबै महशुल भुक्तानी गर्दा हर्जना शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्ने निर्णय पनि गरिएको संस्थाका अध्यक्ष चौलागाईद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संस्थाले जारी गरेको विज्ञप्तीमा लकडाउनका कारण इटहरी भरीका आफ्ना उपभोक्तालाई पानी महशुलमा छुट दिदा २२ लाख ४६ हजार ४ सय नोक्सान हुने पनि गरिएको छ । साथै कोरोना संक्रमण रोगथाम , नियन्त्रण र व्यवस्थापनका लागि इटहरी उपमहानगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन राहत कोषलाई दिइएको १० लाख ११ हजार गरि कुल ४५ लाख रुपियाँ संस्थालाई व्ययभार थप हुने अध्यक्ष चौलागाईद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।