धरानः नेकपा संघीय तथा प्रदेशका सासंदहरुले धरान उपमहानगरपालिकाका वडाहरुलाई उपमहानगरसंग समन्वयनै नगरि एकद्धार प्रणालीको उलंघन गरि राहत दिएको बिषयमा आलोचना गरेपछि नेकपा धरानले आफ्ना सांसदहरुको लाज ढाक्नको लागि नेपाली कांग्रेसले राहत विरतणको विरोध गरेको जनाएको छ ।
बुधबार नेकपाका धरान अध्यक्ष नारायण सुवेदी र सचिव सुर्दशन श्रेष्ठले विज्ञप्ती जारी गर्दै सो कुरा जनाएका हुन् । नेकपा सांसदहरुले दिएको राहतलाई कांग्रेसले अराजनीतिक कार्य भन्दै गरेको टिप्पणीप्रत्ति विज्ञप्ती मार्फत आपत्तिसमेत प्रकट गरेका छन् । नेकपा सांसदहरुले वडा कार्यालयहरुलाई राहत दिएको बिषयमा कांग्रेसले विरोध जनाएपछि नेकपा धरान उपमहानगर कमिटिले यस्तो प्रतिक्रिया दिएको हो । नेकपाले यसअघि नगरस्तीय धरानको फुड बैंकमा २५ सय केजी चामल, २० केजी न्युटेला र सांसद उमिता बराइलीले २ सय १० केजी चामल जम्मा गरेको पनि विज्ञप्तीमा स्मरण गराउदै कांग्रेस सांसदहरुले अहिलेसम्म राहत वा सहयोग नगरेको पनि उल्लेख गरिएको छ । ‘धरान उपमहानगरभित्र कांग्रेसका तीन जना सांसद रहेको र अहिलेसम्म उनीहरुबाट नगरस्तरीय कुनै पनि सहयोग नगरेको हुँदा आफ्ना लाज ढाक्न अर्कालाई निन्दा गर्ने प्रवृत्तिको समेत भत्सर्ना गर्दछौं,’विज्ञप्तीमा भनिएको छ ।
नेकपाले नेपाल सरकारले जारी गरेको राहत सम्बन्धि निर्दे्शिका वमोजिम नै एकद्वार प्रणालीको पुर्णपालना गर्दै जुनसुकै पार्टीबाट निवार्चित भएपछि वडाका जनप्रतिनिधिहरुलाई राहत हस्तान्तरण गरिएको नेकपाको भनाई छ । सांसदहरुले दिएको राहतलाई धरानका २० वटै वडाका अध्यक्षहरुले सकरात्मक कार्यकारुपमा लिदै आभारसमेत व्यक्त गरेको भएपनि कांग्रेसले विज्ञप्ती जारी गर्दै अराजनीतिक कार्य भनि गरेको टिप्पणीप्रति नेकपाले आपत्ति प्रकट गरेको छ । साथै, विज्ञप्तीमा कांग्रेसबाट निवार्चित वडाअध्यक्षहरुले वडामा प्राप्त भएको राहतलाई फुड बैंकमा जम्मा गरेको भन्ने जानकारी पाएको उल्लेख गर्दै उनीहरुप्रति विज्ञप्ती मार्फत आभारसमेत प्रकट गरिएको छ ।
सुनसरी क्षेत्र नं १ बाट निवार्चित संघीय तथा प्रदेशसभाका सांसदहरुले निर्वाचन क्षेत्रको २७ वटै वडा कार्यालयहरुमा राहत वितरण गरेका थिए । सांसदहरुले एकद्वार प्रणाली अनुसार नै जनताको नजिकको सरकार वडालाई राहत दिएकोले एकद्वार प्रणालीको उल्लघन नभएको दाबी गरेका थिए । वस्ती र जनतालाई सिधै राहत दिएको भए मात्र आफुहरुले एकद्वारको उल्लंघन गरेको हुने सांसदहरुको भनाई थियो । कांग्रेसले भने नगरस्तरीय फुड बैंकलाई वाइपास गरेर वडाहरुमा दिएको भन्दै विरोध जनाएको थियो । नेकपा संसादहरुले वडालाई प्रदान गरेका राहत सामाग्रीहरु धेरै जसो वडा अध्यक्षहरुले उपमहानगरको फुड बैंकमा जम्मा गरेका छन् ।