धरानः संविधानविद् टीकाराम भट्टराईले नेपालको अहिलेको संविधान विश्वको अन्य मुलुकको तुलनामा उत्कृष्ट रहेको बताएका छन् । धरान उपमहानगरपालिकाको संविधान दिवस समारोह मूल आयोजक समितिद्वारा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

संविधान दिवस २०७५ को अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले करिब ९५ प्रतिशतले समर्थन गरेको संविधान विश्वको अन्य मुलुकको तुलनामा उत्कृष्ट रहेको बताए । यही संविधानको जगमा अडिएर तिनै तहको ऐतिहासिक निर्वाचन सम्पन्न भएको उनको भनाइ थियो । अस्थिर राजनीतिको अन्त्य भएको बताउँदै अब मुलुक विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे । ‘हिजोको जस्तो संसदमा तानातानको अवस्था, प्रधानमन्त्री फेरबदल, विश्वास र अविश्वासको प्रस्ताव दर्ताको अवस्थाको अन्त्य भयो’ संविधानविद् भट्टराईले भने ।

स्टार्ट गर्न मात्रै बाँकी
बजेट तथा नीति र कार्यक्रमहरू आइसकेकाले अब कुनै बहानाबाजी गर्ने अवस्था नरहेको उनले जिकिर गरे । ‘गाडीको इन्जिन सबै तयार छ, ड्राइभर पनि तयार छ, अब खाली स्टार्ट गरेर अगाडि बढाउन मात्र बाँकी छ,’ उनले भने, ‘अब विकास र समृद्धितर्फ जानुपर्छ । कुनै बहानाबाजी गरेर बस्ने अवस्था छैन ।’
जनताले पनि जनप्रतिनिधिको खबरदारी गनुपर्ने उनले बताए । निर्वाचनपछि गठन भएको प्रदेश सरकारले पनि आफ्ना नीति र कार्यक्रम अघि बढाइसकेको अवस्थामा मुलुक अब समृद्धिको बाटोमा जाने घिमिरेले विश्वास व्यक्त गरे ।

केही समय अघि सङ्घीयता नै असफल हुन्छ भन्ने गलत प्रचार गरिएकाले यसको भ्रममा नपर्न उनले आग्रह गरे । सरकारले आवश्यक पर्ने कर्मचारी समायोजन गर्न नसक्नु संवैधानिक अभ्यासको ठूलो कमजोरी रहेको औल्याउँदै यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बताए ।

७ वटा प्रदेशमध्ये ५ वटा प्रदेशले हालसम्म पनि स्थायी राजधानी तथा नामङ्कन टुङ्ग्याउन नसक्नु ठूलो कमजोरी रहेको उनको भनाइ थियो । संविधान बमोजिम बन्नुपर्ने विभिन्न आयोग गठन गर्न नसक्दा संविधानले निर्धारण गरेका लक्ष्यमा पुग्नका लागि ती आयोगले काम नगरेको बताउँदै यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताको बारेमा बोल्दै उनले संहिताको गलत व्याख्या गरिएको बताए । अहिलेको आवश्यकता अनुसार संहिता आएको उनको भनाइ थियो । संहिताले सबै क्षेत्रलाई न्याय गर्ने पनि उनले बताए । शैक्षिक प्रमाणपत्र नभएका नक्कली चिकित्सकले अवैधानिक रूपमा उपचार गरी बिरामीको जीवनमा खेलबाड गरेकाले सो क्रियाकलाप यो संहिताले रोक्ने पनि उनले बताए । वैधानिक चिकित्सकले आपत्ति जानाउनुपर्ने कुनै कारण संहितामा नभएको उनले दाबी गरे ।

काठमाडौं महानगरपालिकाका कानुनविद् वसन्त आचार्यले अहिलको संविधानले स्थानीय सरकारलाई धेरै जिम्मेवार बनाएको बताउँदै यसमा गर्व गर्नुपर्ने बताए । ‘सङ्घीय सरकार जति जिम्मेवार रहन्छ, त्यति नै प्रदेश र स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्छ,’ उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी रहेको कार्यक्रम धरान उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कानुनविद्, नागरिककर्मी, मानवअधिकारकर्मी, बुद्धिजीवी, महिला अधिकारकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।