विराटनगरः मोरङ क्षेत्र नम्बर ५ का विपन्न परिवारलाई वितरण गर्ने गरी विराटनगरका युवा समाजसेवी मनिष गुरुङले खाद्य सामग्री हस्तान्तरण गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट समाजसेवी गुरुङले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याललाई आज खाद्य सामग्री हस्तान्तरण गरेका हुन् । गुरुङले क्षेत्र नम्बर ५ का १ सय १ विपन्न परिवारका लागि एक हप्ता पुग्ने चामल, दाल, नुन, तेल, साबुन, चिउरालगायतका सामग्री हस्तान्तरण गरे । सो राहत कांग्रेस नेता अर्यालमार्फत मोरङ क्षेत्र नम्बर ५ का विपन्न परिवारलाई वितरण गरिने जनाइएको छ । सत्तामा नभए पनि कांग्रेसले जनताका समस्या समाधानमा लागेकाले आफूले कांगे्रससँग नजिकिएको गुरुङले बताए । उनले आगामी दिनमा पनि अन्य राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
नेपाल तरुण दल र नेविसंघसँगको सहकार्यमा विराटनगर महानगरपालिकाभित्रका विपन्न परिवारलाई पनि समाजसेवी गुरुङले राहत उपलब्ध गराउँदै आएका छन् । तरुण दल र नेविसंघले विराटनगरस्थित कोशी अस्पताल, नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजका कर्मचारी, स्वास्थ्यकर्मी, बिरामी, कुरुवालाई खाना खुवाइरहेको छ । नेता अर्यालले गुरुङले राहत उपलब्ध गराएर प्रशंसनीय कार्य गरेको बताए । सो अवसरमा प्रदेश सांसद विन्दिया कार्की, तरुण दल मोरङ अध्यक्ष सञ्जय थापा (प्रभाकर), कोषाध्यक्ष अनिल रिजाल, युवा नेता पंकज वर्मा, मनिष तिम्सिनालगायतको सहभागिता थियो ।