इटहरीः कुनै बेला इटहरी खेलकुद क्षेत्रमा देशकै नामी खेलाडी भएको शहर भनेर परिचित थियो । तर, देशको खेल क्षेत्रको नेतृत्वकर्ताहरू भने इटहरीमा थिएनन् । आज ठीक उल्टो छ । इटहरीमा देश हल्लाउने खेलाडीहरू छैनन् तर खेल क्षेत्रका नेताहरू भने इटहरीमा भरिभराउ छन् ।
इटहरीमै छन् देशको खेलकुद क्षेत्रको मुख्य संस्था राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट । इटहरीमै छन् जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापा ।
इटहरीमै छन् जिल्ला फुटबल सङ्घका अध्यक्ष केशव कार्की र कोषाध्यक्ष कोबितजंग कार्की । तर, यत्तिका नेतृत्वकर्ता भए पनि इटहरीले पछिल्लो सिङ्गै एक दशक राष्ट्रिय खेलाडी उत्पादन गर्न नसकेको दुःखेसो इटहरीका खेलप्रेमीको छ ।
इटहरीमा विभिन्न क्रिकेट प्रतियोगिताहरू गर्दै र खेल्दै आएका युवा आशिष कार्की इटहरीमा खेल क्षेत्रका नेता भए पनि राम्रा खेलाडीहरू उत्पादन हुन नसकेको बताउँछन् । कार्कीको जस्तै भनाइ छ इटहरीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङको । तामाङ इटहरीको खेल क्षेत्रमा खेलाडीमा भन्दा पुरस्कारमा लगानी धेरै गर्न थालेकाले समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘लगानी पुरस्कारमा होइन, प्लेयरमा हुनुपर्छ ।’
इटहरी कुनै बेला राष्ट्रिय टोली र थ्री स्टारमा जमेका खेलाडी सुरेन्द्र तामाङको शहर हो । इटहरी श्याम मानन्धरजस्ता अर्का जमेका देशमै चिनिएका खेलाडीको शहर हो ।
स–साना खेल जित्दै, चित्त बुझाउँदै इटहरी
सुरेन्द्र तामाङ र श्याम मानन्धरहरूले सक्रिय खेल जीवनबाट सन्यास लिएसँगै इटहरीबाट राष्ट्रिय खेल खेल्ने खेलाडीहरू जन्माउन इटहरीको नेतृत्वले सकेन । जसका कारण स–साना प्रतियोगिताहरूमा जीत निकालेर खुशी हुनुपर्ने बाध्यता भएको छ ।
कुनै बेला देश विदेशका विभिन्न खेलहरूमा उपस्थिति जनाएको राष्ट्रिय जागृति (राजा) क्लबले पछिल्ले समयमा राम्रो खेल खेल्ने र राष्ट्रिय टिममा पर्ने खेलाडी उत्पादन गर्न सकेको छैन । गत वर्ष उदयपुर जिल्लाको एक स्थानीय तह र सुनसरीको झुम्कामा भएको मेयर कपको विजेता हुनुबाहेक राजा क्लब (राष्ट्रिय जागृति क्लब)ले कुनै राम्रो नतिजा ल्याउन सकेको छैन ।
७० सालदेखि लिग नभएर समस्या भयोः अध्यक्ष कार्की
खासगरी फुटबलको क्षेत्रमा राम्रा खेलाडी उत्पादन हुने इटहरीमा पछिल्लो दशक खेलाडी उत्पादन नहुनुमा लिग नहुनु मुख्य कारण भएको खेलक्षेत्रका नेता बताउँछन् । जिल्ला फुटबल सङ्घ सुनसरीका अध्यक्ष केशव कार्की २०७० सालदेखि काठमाडांैमा राष्ट्रिय लिग नभएकाले इटहरीका खेलाडी राष्ट्रिय टोलीमा पर्न नसक्ने अवस्था आएको बताउँछन् । उनी भन्छन्, ‘लिग नभएकै कारण भन्नुपर्छ इटहरीका होनाहार खेलाडी गणेश खड्का कतार भासिनुपर्यो ।’
इटहरीमा अन्य धेरै राम्रा खेलाडी भए पनि लिग नभएर उनीहरूले ‘स्पेस’ नपाएको कार्कीको तर्क छ । ‘हिमालयन शेर्पा क्लबमा अनुबन्धन भएका सन्जु श्रेष्ठ र मनाङ मस्र्याङ्दी क्लबमा खेल्न लागेका प्रदेश दनुवार पनि इटहरीकै हुन्’, इटहरीको राजा क्लबबाट जिल्ला फुटबल सङ्घमा गएका कार्कीले भने, ‘तर राष्ट्रिय लिग नभएर समस्या भएको हो ।’
राष्ट्रिय खेलाडी छैनन्, स्पोर्ट सिटीको चर्चा
राखेप सदस्य सचिव केशवकुमार विष्टले इटहरीलाई स्पोर्टस सिटी बनाउने कुरा गरेका छन् । यसमा उनले स्थानीय सरकारले तत्काल कार्यक्रम बनाएर सहयोग गर्नुपर्ने भनी केही समय अगाडि प्रदेश १ को तेक्वान्दो कार्यालय उद्घाटन गर्न आउने क्रममा बताएका थिए ।
यता, इटहरी उपमहानगर भने तत्काल इटहरीमा खेल पूर्वाधार र राष्ट्रिय खेलाडी उत्पादन नगरी स्पोर्ट सिटीमा हतार नगर्ने मनस्थितिमा देखिन्छ । स्पोर्ट सिटीको विषयमा स्थानीय सरकारको नेतृत्व र धेरै वडाध्यक्षहरू तत्काललाई ‘कन्भिन्स’ नभएको उनीहरूका निकटस्थहरू बताउँछन् । यही कारणले अहिले इटहरीले आफूलाई स्पोर्टस सिटी घोषणा कार्यक्रममा हतार नगरेको एक नगरकार्यपालिका सदस्यले बताए ।
‘खुला दिसामुक्त र प्लास्टिक झोलामुक्तको असफल उदाहरण हेरेर यस्तो कुरामा हतार गर्नुहुन्न’, उनले नाम नछाप्ने आग्रह गर्दै मोबाइल कुराकानीमा भने, ‘स्पोर्ट सिटी घोषणा नगरी पनि खेल पूर्वाधार र खेलाडी उत्पादन गर्न त केहीले पनि रोक्दैन ।’