इटहरीः आज सार्वजनिक भएको सत्तारुढ नेकपाको प्रदेश १ का पदाधिकारीहरूमा महिला नेतृहरू अटाएका छैनन् । नयाँ पदाधिकारीमा भीम आचार्य इन्चार्ज र सावित्रीकुमार काफ्ले सहइन्चार्ज भएका छन् । यस्तै, प्रदेश १ अध्यक्ष र सचिवमा क्रमशः देवराज घिमिरे र सुरेशबहादुर राई रहेका छन ।

प्रदेश १ मा मात्रै होइन प्रदेश ३ को इन्चार्जमा अष्टलक्ष्मी शाक्य र प्रदेश ५ को अध्यक्ष ओनसरी घर्ति मगरबाहेक अन्य कुनै पनि प्रदेशमा महिला पदाधिकारीहरू अटाएका छैनन् ।

पार्टीमा पितृसत्ता र नातावाद रोकिएनः नेकपा नेतृहरू
प्रदेश १ को पदाधिकारी चयनमा कुनै पनि महिलाहरू नपरेकोमा नेकपाका नेतृहरूले असन्तुष्टि पोखेका छन् । अनेमसङ्घकी केन्द्रीय सदस्यसमेत भइसकेकी नेकपा नेतृ तथा इटहरीकी उपमेयर लक्ष्मी गौतमले पदाधिकारी बन्न योग्य धेरै महिला प्रदेशमा भए पनि नराखिएको गुनासो गरिन । उनले भनिन्, ‘पदाधिकारी र प्रदेश नेताहरू चयन गर्दा पितृसत्ता र नातावाद देखियो । परिवारका सदस्य, आफन्त र आसेपासेले पहिलो प्राथमिकता पाए । पार्टीमा अझै पनि पितृ सत्ता हाबि भयो ।’

प्रदेश १ की प्रत्यक्ष निर्वाचित प्रदेश सांसद खिनु लिम्बूले पनि प्रदेशमा सक्षम महिलाहरू हुँदाहुँदै १ जना पनि पदाधिकारीमा नपर्नु दुःखद भएको बताइन् ।

सांसद लिम्बूले फोनमा कुरा गर्दै भनिन्, ‘प्रदेशमा धेरै उच्चस्तरीय महिला नेतृ हुनुहुन्छ । तर, अहिले प्रदेशका इन्चार्ज, सहइन्चार्ज र पदाधिकारीको लिस्टमा महिलाहरू पर्नुभएन ।’ महिलाहरू असक्षम भएर नभई नेतृत्वले नपत्याएर पछि पर्दै आएको पनि सांसद लिम्बूले प्रदेश पोर्टललाई बताइन् ।