बेलबारी/ बेलबारी–२ मा रहेको रमिते सामुदायिक बनले बनाउन थालेको सुरुङ मार्गसहितको भ्युटावर निर्माणले तीव्रता पाइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ बनाउन थालिएको भ्यु टावरका लागि नगरपालिकाले समेत चासो देखाएपछि कामले तीव्रता पाएको हो ।
केही महिना अघिदेखि बनाउन थालेको पर्यटकीय क्षत्रेको डिपिआरसमेत तयार भई निर्माण कार्यले तीव्रता पाएको रमिते सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष प्रेम राईले बताए । सिमसारको नगरका रूपमा चिनिएको बेलबारीको रमिते डाँडामा बन्न थालेको भ्यु टावरले चहलपहल बढाउने विश्वास लिइएको छ । ४ सय मिटर लामो सुरुङमार्गको काम थालिएको अध्यक्ष राईले बताए ।
समितिले दुई वटा गेट निर्माण गर्ने जनाएको छ । भ्यु टावर वरपर रहेको जग्गामा बगैंचा बनाउने तथा पोखरी खन्ने गरी डिपिआर तयार गरिएको सामुदायिक बनका उपाध्यक्ष कमल सुब्बाले बताए । बाख्रा चरनको रूपमा रहेको उक्त स्थान पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेपछि जग्गाको मूल्यसमेत आकासिएको छ ।
लालभित्ती चोकदेखि ३ किलोमिटर उत्तरमा पर्ने सो निर्माणाधीन भ्यु टावरले बेलबारीको आयआर्जनमा ठूलो सहयोग पुग्ने विश्वास रहेको वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतमले बताए । उनले भने, ‘राजमार्ग आसपासको पहिलो भ्यु टावर यही हुने छ । उत्तरी मोरङमा अहिलेसम्म जेफालेमा मात्रै भ्यु टावर बनेको छ ।’
रमिते सामुदायिक बनले ३ हेक्टर क्षेत्रफलमा पर्यटकीय क्षेत्र बनाउनका लागि जग्गा छुट्याइसकेको छ । पिकनिक स्पटका रूपमा समेत जग्गा छुट्याइएको छ । टावर बनेपछि बेलबारीको बेतना सिमसार, सुन्दरहरैंचामा रहेको बाघझोडा सिमसार धनपालथान लगायत बेलबारी, सुन्दरहरैचा र केराबारीका सबै वडा हेर्न सकिने बन समितिले जनाएको छ ।
५ करोड लागत लाग्ने अनुमान गरिएको सो भ्यु टावर पूर्ण रूपमा सञ्चालनमा आउन ६ वर्ष लाग्ने अनुमान समितिको छ । हाल भ्युटावरको निर्माणकार्य १० प्रतिशत सकिएको उपाध्यक्ष कमल सुब्बाले बताए ।
अहिलेसम्म नगरपालिकाको मात्रै सहयोग
भ्यु टावर निर्माणको लागि अहिलेसम्म सरकारी तवरबाट बेलबारी नगरपालिकाले मात्रै सहयोग गरेको निर्माण समितिले जनाएको छ । बेलबारी नगरपालिकाले २५ लाख सहयोग गरेको छ । बेलबारीलाई कर्मथलो बनाएर विदेशमा बसोबास गर्ने युवाहरूको समूहले पनि ठूलो सहयोग गरेको अध्यक्ष प्रेम राईले बताए । उनले भने, ‘कर्मथलो विदेशमा भएका लालाभित्तीवासीहरूले समूह नै बनाएर सहयोग गर्ने गरेका छन् ।’
मेयर सुवेदी भन्छन्, ‘बेलबारीलाई पर्यटकको हब बनाउँछौँ’
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारीलाई पर्यटकको हब बनाउने योजना रहेको बताए । पानीको स्रोत भएको नगरपालिका भएकाले सिमसारदेखि पर्यटकीय क्षेत्रमा लगानी गर्न नगरपालिकाले गुरुयोजना बनाउने उनले बताए ।