धरानः बिस्कुटमा लेबलिङ नराखी बजारमा बिक्री गरिएको भेटिए पछि धरान १ स्थित धरान क्वालिटी बिस्कुट उद्योग कार्वाहीमा परेको छ । सो उद्योगलाई कार्वाही स्वरुप २५ सय रूपैँया जरिवाना गराइएको छ ।
शनिबार पनि उक्त पाउरोटी उधोगमा अनुगमन गरिएको थियो । त्यसबेलापनि लेबलिङ नभएको पाउरोटी बिस्कुट पाइएपछि एकपटकलाई सचेत गराएर छोडीएको थियो । तर मंगलवार पुनः अनसगमनमा जाँदा गल्ती दोहोरिएपछि संचालकलाई कार्वाही गरिएको हो ।
धरान १९ वडाको एक पसलमा अनुगमन गर्दा धरान क्वालिटी उधोग कै बिस्कुट लेबलिङ बिना पाइएपछि उद्योग संचालकलाई नै कारवाही स्वरूप जरिवाना गराइएको धरान उपमहानगरपालिका बजार अनुगमन अधिकृत बेदप्रसाद सापकोटाले बताए । उनका अनुसार कुनै पनि उद्योगले उत्पादन गर्नुपूर्व अनिवार्य रूपमा उत्पादन मिति, उपभोग्य समय, मूल्य सूची, तौल, खाद्य वस्तुको नाम, समिश्रण, ब्याच नम्बर, उत्पादक तथा प्याकेजिङकर्ता उल्लेख गरेको हुनुपर्छ । यी कुनै कुराहरू नपाएपछि कार्वाही गरिएको उनले जनाए ।
मंगलबार नै धरान १५ स्थित दिपेन्द्र बस्तीमा घरेलु रूपमा उत्पादन गरेको बटारे बिस्कुटमा भने उत्पादन मिती एकदिन पछिको लगाएको भेटिएको सापकोटाले बताए । धरानका डिपार्टमेन्ट स्टोरहरूमा होम डिलिभरी नगरिदिनुहुनका लागी आग्रह पनि गरिएको उनले जनाए । उनका अनुसार कोरोनाको उच्च जोखिम बढ्दै गएकाले डिर्पाटमेन्ट स्टोरहरुले विहान ६ देखि ९ बजेसम्म मात्र कारोबार गर्न पाउने व्यवस्था गरिएको छ । तस्विरः रेडियो धरान