विराटनगरः विराटनगर महानगरपालिकाभित्रका बैंक तथा वित्तीय हरेक दिन संचालनमा ल्याइने भएको छ ।
हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दिनको ४ घण्टा सेवा दिने गरी खोल्ने निर्णय भएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार लकडाउनका कारण पर्न जाने आर्थिक समस्यालाई मध्यनजर गर्दै विकल्पसहित आइतबारदेखि बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन गर्न खोजिएको हो ।
भने,‘‘बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसंग आज छलफल गरी दैनिक चार घण्टा खोल्ने निर्णय गरेका छौं ।’’ अहिले विराटनगरमा बिहान ११ बजेदेखि २ बजेसम्म जम्मा ३ घण्टामात्र बैंकले सेवा प्रवाह गर्दै आएका छन् ।
यस सम्बन्धी सबै व्यवस्थापन गर्न विराटनगर महानगरका विपद व्यवस्थापन सम्पर्क व्यक्ति राजेन्द्र प्रधान, नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख रोशन सिग्देल र बैंकर्स एसोसिएसन विराटनगरका संयोजक निश्चल अधिकारीलाई तोकिएको छ । समितिले बैंक खुल्ने समय र व्यवस्थापनको तालिका बनाउने छ ।
विराटनगरमा २७ वटा वाणिज्य बैंक, चारवटा फाइनान्स कम्पनी र दश विकास बैंकका शाखा सञ्चालनमा छन् । धेरै वित्तीय संस्थाहरु एकै ठाउँमा रहेका कारण पालो प्रथामा व्यवस्थित बनाउने र सामाजिक दुरी कायम गर्दै संचालन गर्ने तयारी गरिएको बताइएको छ । महानगरका विपद व्यवस्थापन सम्पर्क व्यक्ति प्रधानले भने,‘‘बैंक तथा वित्तीय संस्थामा सेवा लिन जाँदा अपनाइनु पर्ने सबै सावधानी र सामाजिक दूरी कायम गर्नुपर्ने छ । हामीले यसबारे थप निश्कर्ष निकाल्ने छौं ।’’ थर्मामिटरले ज्वरो जाँच गर्ने, साबुन पानीले हात धुन लगाउने र सेनिटाइजरको प्रयोग अनिवार्य गरिने महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिएका छन् ।