इटहरीः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारी सुनसरी जिल्लास्तरीय ज्येष्ठ नागरिक महोत्सव हुने भएको छ । ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्दै आएका सरोकारवाला संस्थाको पहल र प्रयत्नमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

ज्येष्ठ नागरिकभित्र रहेको सांस्कृतिक, साहित्यिक र विविध प्रकारका क्षमता प्रदर्शित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताइएको छ । महोत्सवमा नेपाल सरकारले लागू गरेका ऐन नियम र नियमावलीका बारेमा जानकारी दिने बताइएको छ । ज्येष्ठ नागरिकसँग सम्बन्धित जिल्लाका सङ्घ संस्थालाई एउटै मञ्चमा ल्याउने र ज्येष्ठ नागरिकका ऐतिहासिकताको पुस्तान्तरण गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

jee

के हुनेछ महोत्सवमा ?
आयोजकले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराए अनुसार सुनसरी जिल्लामा रहेर साहित्य साधना गरिरहेका ८० वर्ष पार गरेका साहित्यकार र कृति प्रकाशन गरेका स्रष्टालाई ज्येष्ठ स्रष्टा सम्मान दिइने भएको छ ।
त्यस्तै, ज्येष्ठ नागरिक लक्षित प्रतिनिधिमूलक कविता वाचन गर्ने कार्यक्रम रहेको पनि बताइएको छ । महिलाहरूको संगिनी नृत्य, पुरुषहरूको खैंजडी नृत्य तथा झुम्रा र तराईवासी समुदायका केही नृत्य पनि प्रस्तुत हुने बताइएको छ ।
थारु जातिको चाँचर र बिरहन, राई जातिको चण्डी नाच र लिम्बू जातिको धान नाच प्रस्तुत हुनुका साथै लिम्बू जातिमा प्रचलित पालम गाइने भएको छ । मगर जातिको हुर्रा नाच र गुरुङ जातिकोे घाटु नृत्य पनि महोत्सवका आकर्षण हुने आयोजकले जनाएको छ ।

नेपालका प्रचलित ऐन, नियम, नियमावली आदिले ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई भन्ने तर सामाजिक सुरक्षा भत्ता भने ७० वर्र्ष पार गरेकाले पाउनु जायज नभएको आयोजकले जनाएको छ । सामाजिक सुरक्षा भत्ता पाउने उमेरको हद ६५ वर्ष कायम गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका दिन असोज १५ गते इटहरीस्थित रङ्गशालामा कार्यक्रम हुने आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान रहेको र त्यसको लागि रकम सङ्कलन भइरहेको आयोजकको भनाइ छ ।

महोत्सव सम्पन्न गर्न गठित आयोजक समितिले जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउँ पालिकामा पुगेर महोत्सवको उपादेयता र आवश्यकताको बारेमा जानकारी गराइसकेको जनाएको छ । विज्ञप्तिमा ज्येष्ठ नागरिक समाज सुनसरीका अध्यक्ष विष्णु थापामागर र सचिव पुण्यप्रसाद नेउपानेले हस्ताक्षर गरेका छन् ।

jeeee