झापाः कल्पवृक्ष सहकारी संस्था मेचीनगरले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर–१० स्थित धुलाबारीमा आयोजना गरिएको रक्तदान कार्यक्रमको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले अमलाको बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा मेचीनगरको रजत जयन्तीको उपलक्ष्यमा प्राविधिक सहयोग उपलब्ध गराएको शाखा अध्यक्ष कुसुम कोइरालाले जानकारी दिइन् । शाखा सचिव लक्षेन्द्रप्रसाद यादवसहित रेश्मा तामाङ, करुणा कार्की, मल्लिका श्रेष्ठलगागतका प्राविधिकले कार्यक्रममा सहजीकरण गरेका थिए ।

कार्यक्रममा ३९ जनाले रक्तदान गरेका थिए । उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख आचार्यले १ पिन्ट रगतले कसैको ज्यान बच्छ भने हरेक व्यक्तिले रक्तदान गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारको नाताले आफ्नो क्षेत्रभित्र रगतको अभावमा कसैको ज्यान जान नदिने र स्थानीय सरकारले गर्ने सहयोगमा कमी आउन नदिने बताए ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले झापा जिल्लामा दैनिक न्यूनतम ८० पिन्ट रगतको माग हुने गरेको जानकारी दिए । उनले हाल जिल्लाका ६ स्थानबाट रगत सङ्कलन हुने बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी रुपा लुइँटेलले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा मेचीनगर नगरपालिकाका कार्यपालिकाका सदस्य, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।