इनरुवाः आदिवासी जनजाति उराव समुदायको करम पूजाको अवसर पारेर पहिलो पटक सुनसरीमा करम पूर्वसन्ध्या कार्यक्रम हुने भएको छ ।

इनरुवामा नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीले पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएको हो । करम पूजामा एकरूपता ल्याउनका लागि करम पूर्व सन्ध्या कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष बेचन उरावले बताए ।

उराव समुदायले भदौ पूर्णिमामा मनाउने नेजी करम पूजामा धार्मिक सांस्कृतिक पहिरन झल्कने पोशाकसहितका नृत्य गरी करमको रुखलाई पूजा गरी एकापसमा सफलताको कामना गर्ने गर्छन् ।

भोलि इनरुवामा आयोजना गरिने करम पूर्व सन्ध्या विविध कार्यक्रम हुने भएका हुन् । कार्यक्रममा गीत, नृत्य, झाँकी, ¥याली, नाटक तथा परम्परागत र आधुनिक पहिरनसहित १६ वटा टोलीले सांस्कृतिक झाँकी प्रस्तुत गर्ने सल्लाहकार नुनुलाल उरावले बताए ।

जातिभित्रको विविधतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु करम पूर्वसन्ध्या कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ । कार्यक्रमले भाषा, संस्कृति, पहिचान, करम पूजाको विधि लगायतका विविध ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने आयोजकको भनाइ छ ।