झापाः मेचीनगर नगरपालिकाको वडा नम्बर ६ लाई पर्यटकमैत्री वडाका रूपमा विकास गर्ने उद्देश्यका साथ वडाले काम थालेको छ । नेपाल प्रवेशको पहिलो द्वार मेचीनगर नगरपालिकाको मुख्य व्यापारिक केन्द्रबिन्दु काँकरभिट्टा वडा नम्बर ६ मा पर्छ ।
नेपाल घुम्न आउने पर्यटकहरूका लागि पहिलो गन्तव्य भएकाले यो वडालाई पर्यटकमैत्री बनाउने लक्ष्यका साथ योजना बनाइएको वडाध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए । उनले यो वडालाई पर्यटकमैत्री बनाउन वडाले जे जस्ता काम गर्नुपर्ने हो कुनै पनि बाँकी नराखी तत्काल गर्ने बताएका छन् ।
‘नेपाल कस्तो छ भन्ने कुरा पहिलो पटक नेपाल छिर्नेबित्तिकै पर्यटकप्रति देखाएको व्यवहार र ऊप्रतिको हार्दिकताबाट जुनसुकै पर्यटकलाई प्रष्ट थाहा हुन्छ’, वडाध्यक्ष तामाङले भने, ‘यस कारण हरेक व्यवसायी पर्यटकमैत्री बन्नुपर्छ ।’ यहाँका यातायात, होटल, लज, ट्राभल व्यवसायीहरूलाई समेत आफ्नो व्यवसायमा आउने पर्यटकलाई राम्रो र सन्तुष्ट हुने खालको पर्यटकमैत्री व्यवसाय र व्यवहार गर्न उनले आग्रह गरेका छन् ।
नेपाल प्रवेश गर्नेबित्तिकै शुरुमा नेपालका बारेमा उसले जे जस्तो बुझ्छ अन्त्यसम्म त्यस्तै हो कि भनी बुझ्ने भएकाले शुरुमै पर्यटकप्रति राम्रो व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।
विश्वका हरेक कुनाबाट नेपाल घुम्न आउने पर्यटकलाई एक साता मात्र काँकरभिट्टामा राख्न सकिए यहाँका व्यवसायीहरू थोरै भए पनि आर्थिक रूपमा मजबुत हुने उनले बताए । के गर्दा पर्यटकलाई आफ्नो होटल, लज ट्राभलमा आकर्षण गर्न सकिन्छ त्यसतर्फ व्यवसायी गम्भीर बन्नुपर्ने वडाध्यक्ष तामाङको भनाइ थियो । पर्यटकलाई आकर्षित गर्नका लागि ६ नम्बर वडामा रहेका धार्मिक एवम् पर्यटकीय स्थलको प्रवद्र्धन गर्न वडा कार्यालय सक्रियपूर्वक लागि परेको उनको भनाइ थियो ।
बाहुनडाँगी रोडमा देवकोटा पार्कसँगै रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक, क्याम्पस परिसरमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिक श्रीजङ्गालगायतका राष्ट्रिय विभूतिका शालिकहरूको बारेमा पर्यटकलाई सबैले जानकारी दिनुपर्ने उनले बताए ।
‘जसले गर्दा उसले त्यो हेर्ने इच्छा व्यक्त गर्दछ । वडा कार्यालय परिसरमा रहेको बीपी पुष्पलाल वाटिकामा एक छिन भए पनि उसले आनन्द र विश्राम लिन सक्छ’, तामाङले भने, ‘पर्यटकलाई त्यहाँसम्म पुयाउने मुख्यः जिम्मेवारी चाहिँ वडावासीकै हुन्छ ।’