इटहरीः आज डिभिजन सडक कार्यालय विराटनगरको कार्यालयमा ताला लगाउन गएका धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरू ताला नलगाई फर्किएका छन् ।

जनप्रतिनिधिहरुका अनुसार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अनुरोधपछि जनप्रतिनिधिहरु फर्किएका हुन् ।

किन गएका थिए जनप्रतिनिधि
धरान उपमहानगरपालिकाको वडा नम्बर १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार धरानका ८ वटा वडाका अध्यक्षसहितको टोली डेलिगेसनको लागि डिभिजन सडक कार्यालय विराटनगर गएको थियो । धरानका सडकमा लामो समयदेखि खाल्डाखुल्डी नपुरिएको र सडक जीर्ण बन्दै गएकाले मर्मतका लागि बारम्बार अनुरोध गरिएको थियो । तर, डिभिजन प्रमुखले विभिन्न बहाना बनाई टार्दै आएका थिए ।

त्यसपछि उनीहरु कार्यालयमै गएर समस्या सुनाउन गएका थिए । यसरी जाने टोलीमा कोशी राजमार्गले छुने ८ वटा वडाका वडाध्यक्ष थिए । काफ्लेका अनुसार वडा नम्बर १, २, ४, ६, ७, ८, १२ र १३ का अध्यक्ष विराटनगर गएका थिए ।

टोलीमा धरान उपमहानगरपालिकाका योजना शाखा अधिकृत किरण भुजेल र इन्जिनियर अरुणभक्त पनि सहभागी थिए । त्यस्तै, जिल्ला ट्राफिक कार्यालय सुनसरीका इन्स्पेक्टर होमराज दाहाल पनि टोलीमा सहभागी थिए ।

केके भयो डिभिजनमा
डेलिगेसनको लागि सडक डिभिजनमा धरानको टोली पुग्दा कार्यालयमा प्रमुख नै थिएनन् । ‘कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरी बिदा स्वीकृत नै नगराई १ महिना अघिदेखि काठमाडौंमा हुनुहुँदो रहेछ । निमित्त प्रमुख दीपककुमार झा पनि कार्यालयमा हुनुहुन्नथ्यो । त्यसपछि हामीले कार्यालयमा ताला लगाउने निर्णय ग¥यौं’, काफ्लेले भने, ‘हाम्रो योजना थाहा पाएपछि मोरङका सहायक प्रमुख जिल्ला अधिकारीले हाम्रो माग पूरा गर्ने र सम्बन्धित कार्यालयका प्रमुखलाई आवश्यक कारवाही गर्ने भनेपछि किनेका ताला पनि हामीले फिर्ता ग¥यौं ।’

कार्यालयमा भएको हाजिर खाता हेर्दा ४ जना इन्जिनियर नै अनुपस्थित पाइएको र उनीहरू कहाँ छन् भन्ने कार्यालयका कर्मचारीले पनि बताउन नसकेको काफ्लेले बताए ।

घटनाको बारेमा प्रदेश सभामुख प्रदीप भण्डारीलाई पनि जानकारी गराएर टोली धरान फर्किएको छ ।

के भन्छन् कार्यालय प्रमुख
घटनाको बारेमा कार्यालय प्रमुख चौधरीसँग बुझ्न खोज्दा आफू काठमाडौंमा भएको र बिस्तृत जानकारी दिन नसक्ने बताए । लामो समय कार्यालय प्रमुख तथा उपप्रमुख कार्यालय बाहिर हुनु अनि इन्जिनियर पनि कार्यालयमा नभेटिनुको कारणबारे सोधिएको प्रश्नमा अहिले यस बारेमा केही बताउन चाहेनन् । आफू २÷४ दिनमै कार्यालय फर्किने उनले बताए ।