इटहरीः श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पिटालिटी प्रा.लि.ले इटहरीमा भोलिदेखि पहिलो आकर्षक सपिङ मल र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सञ्चालनमा ल्याउने भएको छ ।

भोलि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सपिङ मल र सिनेमा हल सञ्चालनमा रहेको सेन्ट्रल प्लाजाको उद्घाटन गर्ने सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले बताए ।

१० तले सो सपिङ मलको भुइँतलादेखि तेस्रो तलासम्म अन्तर्राष्ट्रिय ब्रान्डका पसल रहने भएका छन् । ती पसलमा विश्वका नयाँनयाँ फेसनका कपडा पाइनेछन् । भवनको चौथो तलामा फुड कोर्ट, गेमिङ जोन र किड जोन रहने बताइएको छ ।

central jplaaza (3)

सञ्चालकका अनुसार सिनेफ्लिक्स मल्टिप्लेक्स भवनको पाँचौँ तलामा रहने छ । इटहरीमा पहिलो सो लक्जरी मल्टिप्लेक्समा २ वटा स्क्रिन रहने र २ सय ४० वटा सिट हुने सञ्चालकद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ । सो मल्टिप्लेक्समा नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाका थ्री डी सिनेमा देखाइने बताइएको छ । सिनेफ्लिक्समा दर्शकको चाहना अनुसारका शाकाहारी र मांसाहारी दुवै प्रकारको स्न्याक्स पाइने अध्यक्ष श्रेष्ठले बताए ।

सेन्ट्रल प्लाजाको छैटौं, सातौं, आठौं र नवौं तलामा श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पिटालिटी प्रा.लि को नयाँ लगानीको होटल भरन्डा सञ्चालन हुने बताइएको छ । सो होटलमा ३६ वटा कोठा हुने र सबै कोठाबाट इटहरी शहरको दृश्य देख्न सकिने प्रबन्ध निर्देशक सिद्धार्थ श्रेष्ठले बताए ।

सो सपिङ मल र सिनेमा हलले नयाँ अनुभूति दिने प्रबन्ध निर्देशक श्रेष्ठको भनाइ छ ।

central jplaaza (1)