इटहरीः इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरमा सरकारले आउँदो आर्थिक बर्षमा थप सैनिक एयरबेस स्थापना गर्ने भएको छ ।
हिजो अर्थमन्त्री डा.युवराज खतिवडाले दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गरेको आउँदो आर्थिक बर्षको बजेटमा इटहरीमा एयरबेस बनाउन बजेट छुट्याइएको उल्लेख छ ।
हाल पूर्वी पृतनामा दुईवटा हेलिकप्टर मात्र अट्ने क्षमताको एयरबेस छ । इटहरीसगै सुर्खेतमा पनि एयरबेस स्थापना गरिने भएको छ । भएका एयरबेसलाई स्तरोन्नति गर्ने र नभएका स्थानमा स्थापना गर्ने बिषयमा यस बर्षको बजेटमा उल्लेख गरिएको हो ।
बजेटमा क्षेत्रीय स्तरको एयरबेस स्थापना एवम स्तरोन्नति गर्ने कार्य अघि बढाइने उल्लेछ छ । आन्तरिक तथा सीमा सुरक्षा र प्रतिरक्षा नीतिलाई प्रभावकारी बनाउन रक्षा र गृह मन्त्रालयको बजेट वृद्धि गरेको छ । सुरक्षा निकायको आधुनिकीकरणदेखि सीमा सुरक्षा, सैन्य शक्ति विस्तार र आन्तरिक सुरक्षा तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै वार्षिक बजेट वृद्धि गरिएको हो ।
जसको लागि सरकारले रक्षा मन्त्रालय र नेपाली सेनाका लागि ५० अर्ब २५ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा ४८ अर्ब २४ करोड ३७ लाख रुपैयाँ बजेट थियो ।
यस्ता छन् सुरक्षा तथा रक्षा कार्यक्रम
भारतीय पक्षबाट बर्से्नि हुने गरेका सीमा अतिक्रमण, सीमा क्षेत्रका नागरिकमाथि आक्रमण तथा दुव्र्यवहारका घटना नियन्त्रण गर्न सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का थप ३९ स्थानमा स्थायी संरचनासहितको बोर्डर आउट पोस्ट (बीओपी) भवन निर्माण गर्ने भएको छ ।
आव २०७७र०७८ भित्रै काम सम्पन्न हुने गरी थपिएका बीओपीको भवन निर्माणको काम सम्पन्न गरिनेछ । भारतसँग १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि लम्बाइको सीमा फैलिएकोमा हाल ४१ स्थानमा मात्रै सशस्त्रका स्थायी संरचना छन् । सीमा सुरक्षार्थ भारततर्फ १ सय २२ र चीनतर्फ २ गरी १ सय २४ स्थानमा बीओपी तैनाथ छ । दुवै देशतर्फ सीमा जोडिएका नेपाली भूमि सुरक्षार्थ बीओपी संख्या ५ सय र्पुयाउने गरी सरकारले गृहकार्यसमेत अघि बढाइसकेको छ । भारततर्फका नाकाबाट हुने आयातमा निर्भरता घटाउन चीनसँग सीमा जोडिएका व्यापारिक नाका सञ्चालन गर्ने पनि सरकारले घोषणा गरेको छ । यसका लागि संरचना निर्माणदेखि सुरक्षा संयन्त्रको तैनाथीलाई पनि बढाइने उल्लेख छ ।
विपद् व्यवस्थापन र नागरिकको जीवनको सुरक्षालाई उच्च प्राथमिकतामा दिई राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गरिने सरकारले घोषणा गरेको छ । यस्तै सबै सुरक्षा निकायले प्रयोग गर्ने जुत्ता तथा पोसाक स्वदेशमै उत्पादित कम्पनीको प्रयोग गर्ने घोषणा गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी सुरक्षाकर्मीको संख्या करिब २ लाख छ ।
अध्यागमन प्रणालीमा सूचना प्रविधिको प्रयोगलाई बढाइने अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरेका छन् ।प्रहरीको दक्षता अभिवृद्धि गरी तथ्य र वैज्ञानिक प्रमाणमा आधारित अपराध अनुसन्धान र अभियोजन प्रणालीको सुनिश्चित गरिनेछ ।राष्ट्रिय अनुसन्धान विभागको क्षमता विकास गरी प्रविधिको प्रयोगमार्फत व्यावसायिक इन्टेलिजेन्स र अनुसन्धानमा जोड दिइने बजेटमा उल्लेख छ ।
२०६७ सालबाट थालिएको सेनालाई बंकरबाट ब्यारेकमा स्थानान्तरण गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । यसअघि हरेक वर्ष १ अर्बका दरले बंकरबाट ब्यारेक निर्माण गर्न बजेट विनियोजन हुँदै आएको छ ।
राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन एवं अनुसन्धान गर्न राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनाका लागि काम थालिनेछ ।आगामी ३ वर्ष्भित्र सबै स्थानीय तहबाट अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्ने व्यवस्था मिलाइनेछ । सबै नेपालीको बायोमेट्रिक पहिचान र पृथक् नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण गर्न आगामी आर्थिक वर्ष्भित्र थप १ करोड नागरिकको विवरण संकलन गरिने उल्लेख छ ।