इटहरीः मोरङको सुन्दरहरैंचा वडा नम्बर ५ को एकै गाँउका ४ भाईको दैनिकी एकै खालका छन् । बिहान ढिलोमा ४ बजे उठ्यो, किसानका गोठ गोठमा पुग्यो । दुध संकलन गर्यो , ५ बजेभित्रमा नजिकैको शहर इटहरी आइपुग्यो । चार भाईहरु दैनिक ९ किलोमिटरको मोटरसाईकल यात्रामा इटहरी शहर आइपुगि बिभिन्न वडाका टोल टोलका घर घरमा दुध बिक्री गर्दै हिड्ने गर्दछन् ।
विश्वभरी कोरोना भाइरस संक्रमणले मानवहरुको ज्यान गईरहेको र संक्रमण उच्चदरमा फैलिरहेपनि विना स्वास्थ्य सुरक्षा जोखिम मोलेरै अमृत सरह मानिएको दुध घर घरमा पुर्याएर व्यपारसंगै सेवा प्रदान गरिररेका छन् , सुन्दरहरैंचा ५ को एकै गाँउका अम्बिकाप्रसाद सुवेदी, छत्रबहादुर न्यौपाने, कृष्ण घिमिरे र सुरेश(सुर्य) दाहाल ।
बच्चादेखि बृद्ध र बिरामी सबै खालका मानिसहरुलाई आवश्यक पर्ने दुध एकाबिहानै घरघरमा पुर्याउन चार भाईलाई लकडाउनका बेला निकै सकस भईरहेको छ । कोरोना संक्रमण बढीरहेका बेला जोखिम मोलेर व्यपारसंगै सेवा गरिरहेका उनिहरुलाई प्रत्येक दिन घर फर्कदा मनमा भने शान्ती हुँदैन । धेरै जनासंग दैनिक रुपमा भेटघाट हुने भएकाले कत्तै आफुले त गाँउ र घरसम्म कोरोना भाइरस त ल्याएनौ भन्ने चिन्ताले दैनिक सताउने गरेको छ ।
दुध लिएर दैनिक नजाउ शहरमा रहेका आफ्ना करिब १० बर्षअघि देखिका ग्राहकले दुध खान नपाउने चिन्ता मात्रै छैनन् उनिहरुलाई । गाँउघरमा दुध उत्पादनमै आत्मनिर्भर भईरहेका किसानले दैनिक उत्पादन गरेको दुध बिक्री नभई खेर जाने डर । यी सबै परिस्थिती र अवस्थालाई मुल्यांकन गरि जोखिम मोलेर भएपनि लकडाउनमा अनेक खालका समस्या झेलेर भएपनि घर घरमा सेवा दिने कार्य सुचारु राखेको उनिहरुले बताएका छन् ।
कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि दुध पनि अत्यावश्यक सामाग्री भित्रै परेपनि गाँउबाट इटहरी शहर जाँदा बाटोमा प्रहरीबाट अनेक खालका दुःखहरुले झेल्नु परेको उनिहरुले बताएका छन् । तर, अहिलेभने ७ बजेभित्रमा बिक्री गरेर फर्किसक्नु पर्ने भएकाले पहिलाको जस्तो प्रहरी प्रशासनबाट दुःख नपाइएको उनिहरुले बताए ।
लकडाउनका कारण सबै क्षेत्र ठप्प रहेकाले आफुहरुको व्यपारमा ५० प्रतिशत गिरावट आएको उनिहरुले बताए । भएको व्यापारमा पनि धेरै स्थानमा दुई महिनासम्मको भुक्तानी पाउन बाँकी रहेको उनिहरुले बताए । इटहरी शहरमा दुध खानेहरु प्रायः सबै कुनै न कुनै व्यवसाय र उद्यममा लागेका छन् । उनिहरुको व्यवपार ठप्प भई आम्दानीको स्रोत बन्द भएकाले आफुहरुलाई दुधको भुक्तानी दिन नसकिरहेको उनिहरु बताउँछन् । उनिहरु भन्छन–‘१० बर्षदेखि निरन्तर हामीहरुसंगै दुध लिइरहेका उपभोक्ताहरु हुनुहुन्छ । अहिले आम्दानी छैन, लकडाउन खुलेर व्यवसाय संचालनपछि भुक्तानी गछौं है भन्नुहुन्छ , हुदैन भन्ने कुरा पनि आएन । तर, गाँउ किसानलाई हप्तावारी, महिनावारी भुक्तानी दिनै पर्ने बाध्यता छ ।’
धेरै किसानहरु दुध बिक्रीबाटै आएको पैसाले घरको सबै खालका खर्च टार्नेहरु नै भएकाले आफुहरुले महंगो व्याजमा ऋण खोजेरै भएपनि किसानहरुको भुक्तानी भने नरोकेको उनिहरुले जनाए । लकडाउन निरन्तर बढ्दै गए अबको एक महिनापछि आफुहरुको व्यवसायपनि बन्द गर्नु पर्ने अवस्था सृजना हुने उनिहरुले बताएका छन् ।