इटहरीः प्रदेश १ मै जोडिएको भारतीय राज्य पश्चिम बङ्गालमा बसमा यात्रा गर्दा पत्रकार र खलाडीलाई भाडा लाग्दैन ।

राज्यले दिएको परिचयपत्र हुँदा पत्रकारको भाडा लाग्दैन । विभिन्न खेल अवार्ड पाएका खेलाडीले प्रमाण बोकेर यात्रा गरेमा पनि भाडामा छुट पाउँछन् । भाडा नलाग्ने मात्रै होइन कुनै व्यवसायीले भाडा लिएको पाइएमा भ्रष्टाचारको कारबाही हुन्छ ।

नर्थ बङ्गाल यातायात कर्पोरेसनले चलाएको बसमा यस्ता सुविधा रहेका छन् । राज्यकै स्वामित्वमा चल्ने यी बसमा भारतीय स्वतन्त्रता सेनालीलाई पनि भाडा लाग्दैन । भाडा नलाग्नेमा वर्तमान र भूपू प्रदेश र सङ्घीय सरकारका सांसद पनि पर्छन् ।

यति मात्रै होइन विभिन्न अपाङ्गता भएका व्यक्तिलाई पनि निःशुल्क यात्रा गराइन्छ । यस्तै, भारतका विभिन्न राष्ट्रिय अवार्ड पाउनेले पनि यात्रामा पैसा तिर्नुपर्दैन । क्यान्सर, मृगौला, एड्सजस्ता गम्भीर प्रकृतिका रोगको उपचार गर्न जाने क्रममा पनि भाडा लाग्दैन । यी सबै छुट लिनको लागि आवश्यक कागजात र प्रमाणपत्र भने पेश गर्नुपर्ने सिलगुरी– पानीट्याङ्की रुटका कलेक्टर भाष्कर शाह बताउँछन् ।

gadi news (2)

उनी भन्छन्, ‘यो कोटाजस्तै हो । यी सबै क्षेत्रका मान्छेले पैसा तिर्नु पर्दैन । राज्यले सम्मान र सहयोग गरेको हो ।’ बसमा मात्रै होइन राज्यद्वारा सञ्चालित रेलमा पनि यसप्रकारका विभिन्न सुविधा राज्यले दिएको शाहले बताए ।

नेपालमा यातायातको सिण्डिकेटले सरकार हैरान हुन्छ । नेपालमा व्यवसायीको विकल्पमा सरकारका आफ्नै यातायातका साधन नहुनुले सवारी यात्रामा निःशुल्क प्याकेज दिन नसकेको जानकारहरू बताउँछन् ।

gadi-news-1 copy