धरानः धरानमा आयोजित ‘संविधानमा महिलाको अधिकार’ विषयक वक्तृत्वकला प्रतियोगितामा सरला कायस्थ पहिलो बनेकी छिन् ।

महिला सञ्जाल धरान नगर समितिद्वारा आयोजित प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई उछिन्दै कायस्थ पहिलो भएकी हुन् । यसैगरी, देविका बिमली दोस्रो र कल्पना शेर्पा तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो बनेका प्रतियोगीले पुरस्कारस्वरूप संविधान र मुलुकी संहिता तथा प्रमाणपत्र प्राप्त गरे । यस्तै, सकुन भुषाल र साबित्री इवारमले सान्त्वना स्थान प्राप्त गरे ।

विजेतालाई प्रदेश १ की सांसद साबित्री जोशी श्रेष्ठ र सञ्जालकी अध्यक्ष सबिता राईले संयुक्त रूपमा पुरस्कार प्रदान गरे । अधिवक्ता मानबहादुर रुम्दाली, सञ्जालकी संस्थापक अध्यक्ष एवं पत्रकार गंगा बराल र पत्रकार देवेन्द्र कार्की प्रतियोगिताको निर्णायक रहेका थिए ।

सांसद श्रेष्ठले महिलामाथि अहिले पनि पुरातनवादी सोच हाबी भएकाले सो सोच परिवर्तन गर्नुपर्ने बताइन् । महिला एकजुट बन्न सके महिलामाथि हुने सबैखाले विभेदको अन्त्य हुने उनको भनाइ थियो । वर्तमान संविधानले महिलाको अधिकारलाई सम्बोधन गरेको उनको भनाइ थियो । यसलाई कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिए ।

सो प्रतियोगितामा सञ्जालका महिला अधिकारकर्मी तथा महिला जनप्रतिनिधिलगायत १३ जना सहभागी रहेको सञ्जालकी अध्यक्ष राईले जानकारी दिइन् ।