धरानः धरान–१६ की जिया लिम्बू आफ्नो परिवारसँग धरान–१४ स्थित बुढासुब्बा मन्दिर कहिलेकाहीँ दर्शन गर्न पुग्थिन् । तर, बुढासुब्बाको स्थापना र धार्मिक महत्वबारे उनलाई ज्ञान थिएन ।
मिस प्लस २ प्रतियोगितामा सहभागी उनी आफ्ना अन्य प्रतिष्पर्धीसँग शनिबार बिहान बुढासुब्बासहित पिण्डेश्वर र दन्तकाली मन्दिर पुगेपछि मन्दिरहरूको स्थापना र महत्वबारे जान्ने मौका पाइन् । ‘मिस प्लस २ मा भाग लिएपछि मन्दिरहरूको महत्वबारे बुझ्ने अवसर जु¥यो’ उत्साहित हँुदै जियाले भनिन् । धरानमै रहेर पनि मन्दिरको महत्व थाहा नपाएकोमा खिन्नता प्रकट गदै उनी भन्छिन्, ‘कति इम्र्पाेटेन्ट मन्दिरहरू रै’छ । मलाई यसको महत्व थाहै थिएन, आज प्रष्ट भएँ ।’
ती मन्दिरहरूको महत्वको बारेमा धरान–१७ की रोजनी लिम्बूलाई पनि केही ज्ञान थिएन । परिवारसँग बेला–बेलामा बुढासुब्बा मन्दिर जाने गरे पनि मन्दिरहरूको महत्वको बारेमा थाहा नभएको उनले सुनाइन् । ‘बुढासुब्बामा परिवारसँग कहिलेकाहीँ जान्छु’ तर, आज सबै मन्दिरहरूको महत्व बारे बुझ्ने मौका पाएँ, निकै एक्साइटेड छु ।’
जिया र रोजनीजस्तै अन्य प्रतिस्पर्धीहरूले पनि मन्दिरहरूमा पूजा गर्न आए पनि महत्व थाहा नभएको बताए । उनीहरूलाई मन्दिरको स्थापना र महत्वको बारेमा पर्यटन क्षेत्रमा पनि कलम चलाइरहेका पत्रकार रोहित राईले प्रष्ट पारिदिए । यति मात्र नभएर पर्यटनबाट हुने आर्थिक कारोबारसम्बन्धी पनि पत्रकार राईले प्रष्ट पारे ।
धरान पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङले पनि पर्यटन र धरानको पर्यटकीय क्षेत्रलगायतका विषयमा प्रष्ट पारेका थिए । उपमहानगरले पर्यटनसम्बन्धी अघि सारेका कार्यक्रमहरूको बारेमा पनि थुलुङले बताए । पर्यटन बारे सुनेपछि जिया भन्छिन् ‘पर्यटन भनेको व्यापार, मनोरञ्जन हुनुपर्दो रै’छ ।’
धरानका पर्यटकीय क्षेत्रहरूको पहिचान तथा महत्वबारे बुझाउने उद्देश्यले बिग इभेन्ट नेपालले ‘मिस प्लस २’ का २४ जना प्रतिष्पर्धीलाई दन्तकाली, पिण्डेश्वर, बुढासुब्बासहित धरान–४ मा रहेको अर्गानिक तरकारी खेतीको अवलोकन गराएको थियो । प्रतियोगीहरूको बौद्धिक क्षमताको विकास गराउनको लागि विभिन्न विषयमा प्रशिक्षण गराइरहेको प्रचारप्रसार संयोजक विकास चाम्लिङले बताए । धरानको पर्यटनको विकासको लागि धार्मिक पर्यटन पनि महत्वपूर्ण रहेकाले यसको महत्व बारेमा जानकारी गराउनको लागि पनि अवलोकन गराइएको उनले बताए । ‘धरानले पर्यटनलाई महत्वपूर्ण रूपमा लिएको छ । त्यसैले धरानको पर्यटन क्षेत्रमा धार्मिक पर्यटन पनि एक हो’, त्यसको महत्व बुझाउन पदयात्रा गरायाँै,’ उनले भने ।
विद्यार्थीहरूले धरान–४ वसन्तटारको सोताङ अर्गानिक फर्मको अवलोकन समेत गरे । अर्गानिक तरकारीका अभियन्ता कृष्ण राईको साथमा अर्गानिक तरकारी खेतीको अवलोकन उनीहरूले गरे । राईले अर्गानिक तरकारीको उपभोग नगर्नाले विभिन्न रोगहरू निम्तिन सक्ने बताए । ‘तरकारीमा विषादी प्रयोग गर्दा कृषकलाई पनि असर गर्छ, उपभोक्तालाई त झनै असर गर्छ,’ उनले भने, ‘तपार्इंहरू जस्तो विद्यार्थीले पनि यसबारे सचेतना फैलाउनुपर्छ ।’
बिहान ७ बजे धरान–१२ को अमान बजारबाट शुरु भएको पदयात्रा सिंहदेवी चोक, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा हुँदै झोलुङ्गे पुल तरेर धरान–४ वसन्तटारको अर्गानिक फार्ममा पुगेर टुङ्गिएको थियो । पदयात्रामा सहभागी प्रोजिता तामाङले पदयात्रामा सहभागी भएर धेरै कुरा सिकेको बताइन् । ‘पैदल हिँडेर धेरै गलियो, रमाइलो पनि भयो अनि धेरै ज्ञानगुनका कुरा सिकियो,’ उनले भनिन् ।