इटहरीः कोभिड १९ महामारीलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाई पर्यटकीय गन्तव्य र सेवालाई ब्राण्डिङ्ग गरी आउँदो आर्थिक बर्षमा प्रदेश १ सरकारले पर्यटन उद्योगको दिगो विकास गर्ने भएको छ । आज सरकारका तर्फबाट प्रदेश संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सो बारे जानकारी दिएका हुन् । स्थानीय श्रोत र साधनको अधिकतम् प्रयोग गर्दै कृषि एवम् कृषि वन पर्यटन, धार्मिक तथा साँस्कृतिक पर्यटनमा जोड दिइने बताए ।
आर्थिक समृद्धिको एउटा आधार, पर्यापर्यटन, उद्योग र व्यापारलाई आधार मान्दै प्रत्येक जिल्लाको पर्यटकीय गुरुयोजना निर्माण र महत्वपुर्ण पर्यटकीय गन्तव्यहरुको पूर्वाधार विकास गरी तिनीहरुको अन्तरसम्बन्ध व्यवस्थापनको कार्यक्रमहरु संचालन गरिने बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रहरूको संरक्षण र बुद्धिमत्तापूर्ण उपयोग गर्दै पर्यापर्यटनको गन्तव्यको रूपमा विकास गरिनेछ। इटहरी वडा नं २ र ३ मा अवस्थित ३०० हेक्टर क्षेत्रमा रहेको तालतलैया क्षेत्रको संरक्षण गर्दै प्रदेशकै गौरवको आर्कषक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय तह, निजी क्षेत्र र अन्य लगानीकर्ताहरुसँग सहकार्य गरिने नीति तथा कार्यक्रम सर्वाजनिक गर्ने प्रदेश प्रमुख अधिकारीले बताए ।
सम्भाव्य पर्यटकीय गन्तव्यहरुको पहिचानका साथै प्रमुख पर्यटकीय स्थल, प्राकृतिक एवम् ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल, राष्ट्रिय सम्पदा र उद्यानहरुलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरी पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड दिईने बताए । उनले ग्रामीण पर्यटनलाई विशेष प्राथमिकता दिइने बताए ।
तराई देखि उच्च पहाड जोड्ने पर्यटकीय पदमार्ग र ऐतिहासिक धार्मिक पर्यटकीय र पर्यापर्यटनको सम्भावना क्षेत्रको विकास गर्ने योजनालाई विशेष महत्वका साथ संचालन गरिने उनले बताए । प्रदेशको कृषि विकास तथा पर्यटन बिकासको लागि गुरुयोजना तयार गरिनेछ। स्थानीय तहसँगको समेत सहभागितामा ग्रामीण विकासको लागि पदमार्ग पर्यटनको विस्तृत परियोजना तयार गरी कार्यान्वयन शुरु गरिनेछ। यसको शुरुवात मुन्धुम (ट्रेल) पदमार्गको निर्माण कार्यबाट शुरु गरिने उनले उल्लेख गरे ।
प्रदेश नं १ समुद्र सतहभन्दा होचो भागमा रहेको भु -भागदेखि बिश्वकै अग्लो रहेको बैभवशाली प्रदेश भएकोले सगरमाथा क्षेत्रको वातावरणलाई स्वच्छ, सफा र आकर्षक बनाई राख्नु पर्ने आवश्यकतालाई महसुस गरी यस क्षेत्रका १४ वटा आरोहणका लागि अनुमति प्राप्त हिमशिखरहरुको आरोहणमार्गको सरसफाई कार्यका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बताए ।
कोरोनाको महामारीले अति प्रभावित क्षेत्रको रुपमा पर्यटन रहेको छ। प्रकोपको कुनै निश्चित अवधि नभएता पनि बाह्य पर्यटकको आगमन कम्तिमा १-२ वर्षको निमित्त प्रभावकारी नहुने भएको हुनाले आन्तरिक पर्यटन मार्फत् पर्यटन उद्योगलाई पुनर्जिवन दिनुपर्ने आवश्यकता छ। आन्तरिक पर्यटनको लागि सम्पूर्ण निजामती सेवा, निजी व्यवसाय सम्बद्धसँग संस्थामा कार्यरत कर्मचारीहरुलाई बिदा तथा आवश्यक अन्य सेवा उपलब्ध गराई आन्तरिक पर्यटन प्रवर्द्धन गरिने बताए ।

तराई देखि उच्च पहाड जोड्ने पर्यटकीय पदमार्ग र ऐतिहासिक धार्मिक पर्यटकीय र पर्यापर्यटनको सम्भावना क्षेत्रको विकास गर्ने योजनालाई बिशेष महत्वका साथ संचालन गरिनेछ। पातलो वस्ती भएका ठाउँमा स्थानीय तह र अन्य साझेदार निकायसँग सहकार्य गरी पर्यटकीय पदमार्गहरु निर्माण गरिने छ। पर्यटकीय पदमार्गको योजनामा होम-स्टेको सम्भावनालाई समानान्तर रुपमा अध्ययन गरी त्यसको विकास गरिने प्रदेश नम्बर १ सरकारले नीति लिइएको उनले बताए ।

विराटनगर बिमानस्थललाई अन्तराष्ट्रिय बिमानस्थलको रुपमा स्तरोन्नति गर्नका लागि जग्गा अधिग्रहण लगायतको कार्यका लागि ठोस पहल कदमी लिइनेछ। धरानमा समेत बिमानस्थल निर्माण गर्नका लागि आवश्यक पहल शुरु गरिनेछ। स्थानीय श्रोत र साधनको अधिकतम प्रयोग गर्दै स्थानीय बासिन्दाको आयआर्जनमा बृद्धि हुने गरी समुदायमा आधारित कृषि एवम् कृषि, वन पर्यटन, धार्मिक तथा साँस्कृतिक र जैबिक पर्यटनमा जोड दिइने छ। कोभिड-१९ को महामारीका कारण रुग्ण बनेका पर्यटकीय क्षेत्रहरुलाई पुनरुत्थान गर्ने कार्यक्रमहरुद्वारा रोजगारी सृजना गरिने उनले बताए ।

पर्यटक र अतिथिको सत्कार, प्रदेश १ को संस्कारू भन्ने नाराका साथ पर्यटन उद्योग र व्यवसायलाई सेवामुलक, व्यवस्थित, व्यवसायिक र प्रभावकारी बनाउन क्षमता अभिबृद्धिका साथै पर्यटकीय ब्राण्ड तय गरी प्रचार प्रसारका कार्यक्रमहरु संचालन गरिनेछ। प्रदेशको गौरवको रुपमा रहेका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रको जैविक विविधता संरक्षण मार्फत् पर्यापर्यटन प्रवर्द्धनका लागि संघीय सरकारसँग सहकार्य गरिने प्रदेश प्रमुख अधिकारीले बताए ।