इटहरीः इटहरी उपमहानगरपालिकाले एनसेल तथा नेपाल टेलिकमका टावरहरूसँग कर लगाउने तयारी गरेको छ ।
विभिन्न स्वास्थ्य समस्यादेखि क्यान्सरसम्म निम्त्याउने रेडिएसन फाल्ने टावरहरूसँग कर लिने बारेमा एक चरणमा छलफल भएको मेयर द्वारिकलाल चौधरीले बताए । उदयपुरको बेलका नगरपालिकाले प्रतिटावरका दरले एनसेलमा कर लिएको उदाहरण अनुसार इटहरीले पनि कर लगाउने तयारी गरेको उपमहानगर स्रोतको भनाइ छ ।
हाल काठमाडांैमा रहेका मेयर चौधरीले भने, ‘मोबाइल टावरसँग हामीले कर लिने कुरा चलाएका छौँ । एनसेलसँग त कुराकानी पनि भएको छ ।’ सरोकारवालासँग छलफल र विज्ञसँग कुराकानी गरेर टुङ्गो लगाउने मेयर चौधरीले बताए । सबै कुराको होमवर्क सकेर नगरसभामा कुरा लिएर जाने पनि मेयर चौधरीले बताए । उनले भने, ‘हामीले कर होइन स्थानीय सरकारलाई सबल बनाउने दायित्वको रूपमा यो कुराको उठान गरेका छौँ ।’
यस विषयमा हाल एनसेल टावरमा कर लिने प्रदेश १ को पहिलो स्थानीय तह बेलका नगरपालिकाका मेयर दुर्गाबहादुर थापासँग मेयर चौधरीले छलफल गरिसकेका छन् ।
रिक्सादेखि रेष्टुरेन्टसम्म कर लिने नगरले रेडिएसन फालेर मानव स्वास्थ्यमा असर गर्ने टावरहरूमा पनि कर लगाउने बारेमा सोच्नुपर्ने भनी केही स्थानीयले सल्लाह दिएका थिए । त्यसै अनुरूप हाल स्थानीय सरकारले त्यस बारेमा अनौपचारिक होमवर्क शुरु गरेको छ ।
रेडिएसनले पुरुषको प्रजनन क्षमतामा ह्रास ल्याउने, बोधोपन बढाउनेदेखि क्यान्सरसम्म हुने जोखिम भए पनि राम्रो भाडा आउने लोभमा घरवालाले टावर राख्न दिँदै आएका थिए । घातक टावरहरू भूकम्प आदिले लड्दा बढी दुर्घटना हुने र निरन्तर फालिने रेडिएसनले क्यान्सरसम्म हुने भए पनि स्थानीय समुदाय र सरकार सचेत नहुँदा चौतर्फी घाटा भइरहेको जानकारहरू बताउँछन् ।
कति छन् इटहरीमा मोबाइल टावरहरू
टावरै टावरले भरिएको इटहरीमा निजी टेलिकम सेवाप्रदायक एनसेलका सबैभन्दा धेरै २७ वटा टावरहरू रहेका छन । यस्तै, सरकारी स्वामित्वको नेपाल टेलिकमका २१ वटा रहेका छन् । मोबाइल बाहेकका टावरहरू पनि इटहरीमा थुप्रै छन् । विभिन्न निजी रेडियो स्टेसनका ५ वटा टावरहरू छन् इटहरीमा । त्यसबाहेक इन्टरनेटका ५–६ वटा टावर जोड्दा इटहरीमा ६० हाराहारी रेडिएसन फाल्ने टावरहरू रहेका छन् । यस्ता घातक टावरलाई करको दायरामा ल्याउने र नियमन अनि नियन्त्रण गर्ने काममा भने स्थानीय सर्वसाधारण र सरकार दुवै उदासीन देखिने धेरैले गुनासो गर्दै आएका छन् ।
के हुन् रेडिएसनका असरहरू ?
पछिल्लो समयमा मोबाइल फोन, रेडियो र इन्टरनेटका टावरहरूले फाल्ने घातक रेडिएसनले जनस्वास्थ्य, वातावरण र पशुस्वास्थयमा समेत असर पार्ने विभिन्न रिपोर्टहरू आएका छन् । केही दिन अघि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको रेडियोलोजिस्टहरूको भेलाले पनि रेडिएसन समस्याका बारेमा बहस गरेको थियो । भेलाले रेडिएसनले मानव स्वास्थ्यमा धेरै असर पर्ने भन्दै रोकथामका उपायका बारेमा छलफल गरेको बताइएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले रेडिएसनको असर देखाएका हुन् । यिनै अध्ययनका कारण युरोप र अमेरिकातिर यस्ता टावरहरू राख्नु अगाडि स्थानीयको सहमति लिने र वातावरणीय तथा जनस्वास्थ्यमा पर्ने असरको अध्ययन हुन्छ । तर, नेपालमा भने घरधनीले भाडामा स्वीकृति दिनासाथ मोबाइल, रेडियो तथा इन्टरनेटका टावरहरू राख्न सहजै मिल्छ । तर, यसरी राखिएका टावरहरूले फाल्ने रेडिएसनका कारणले जनस्वास्थ्य, पशुपंक्षी र वातावरणमा ठूलो असर पर्ने विभिन्न अध्ययनले देखाएका छन् ।
भारतको प्रेस इन्फरमेसन ब्युरोले प्रकाशन गरेको एक अनलाइन सामग्रीले टावरहरूको रेडिएसनका कारण अनिद्रा, डिप्रेसन, पुरुषको प्रजनन क्षमतामा कमी हुनेदेखि क्यान्सरसम्म हुने बताएको छ । पिआइबि डट एनआइसी डट आइएनमा इन्डियन मेडिकल काउन्सिलका विभिन्न रिसर्चहरूलाई आधार मानेर यस्तो रिपोर्ट राखिएको छ ।
भारतीय प्रेस इन्फर्मेसन ब्युरोले मात्रै होइन क्यान्सर सम्बन्धी काम गर्ने संस्था अमेरिकन क्यान्सर सोसाइटीले पनि त्यस्तै तथ्य सार्वजनिक गरेको छ ।
क्यान्सर डट ओआरजी नामक आफ्नो अनलाइन संस्करणमा उक्त सोसाइटीले विभिन्न टावरका रेडिएसनले क्यान्सरसम्म हुने लेखेको छ । त्यस्तै, वातावरणको प्रदूषण रोकथाम गर्न काम गर्ने इन्भारमेन्टरपोलुसन डट आइएन नामक एक भारतीय पोर्टलले पनि रेडिएसन निकाल्ने टावरले विभिन्न असरहरू गर्ने बुँदागत रूपमा लेखेको छ ।
रेडिएसन प्रदूषणका ७ मुख्य समस्या शीर्षकमा रहेर सो पोर्टलमा सुप्रिया केले लेखेकी छिन् । विभिन्न अध्ययनहरूलाई उद्धृत गरेर रेडिएसनले मानवदेखि वातावरणसम्म असर पर्ने उनले जनाएकी छिन् ।