झापाः मेचीनगरलाई स्वच्छ र सफा बनाउन यतिखेर मेचीनगरवासी स्वतःस्फूर्त रूपमा जुटेका छन् ।
नगरपालिकाको दोस्रो नगरसभाबाट प्रस्तुत वार्षिक बजेट तथा नीति कार्यक्रम अन्तर्गत वातावरण तथा विपद व्यवस्थापन सम्बन्धी नीतिमा उल्लेख भए अनुसार ‘हरियालीको शहर, मेचीनगर’ अभियान भन्ने नारालाई सार्थक तुल्याउन पनि नगरवासी कम्मर कसेर लागि परेका छन् । मेचीनगरको वडा नम्बर ६ लाई पर्यटकमैत्री वडाका रूपमा पहिचान बनाउने वडाध्यक्ष ललितबहादुर तामाङको उद्घोषसँगै वडावासी नगरलाई हरियाली बनाउन भन्दै वृक्षरोपणमा जुटेका हुन् ।
पहिलो चरण अन्तर्गत मेचीनगर—६ काँकरभिट्टास्थित क्याम्पस रोडको दायाँबायाँ वृक्षरोपण अभियान शुरु गरिएको छ । मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको वार्षिक बजेट नीति तथा कार्यक्रम अन्तर्गत काँकरभिट्टा बहुमुखी क्याम्पस, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको अगुवाइमा अभियान शुरु गरिएको हो ।
अभियानलाई मेचीनगरको वडा नम्बर ६ ले साथ दिएको छ । पहिलो चरणमा ४८ हजार रुपैयाँको लागतमा ८० वटा सिमेन्टका गमलामा धुपी, एरिका, समी प्रजातिका बिरुवा रोपिएको हो ।
६ सय रुपैयाँ प्रतिगोटाका दरले खरिद गरिएका कुल गमलामध्ये २० वटा ६ नम्बर वडा कार्यालयले, ३० वटा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले, १२ वटा काँकरभिट्टा बहुमुखी क्याम्पसले तथा १० वटा मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाले सौजन्यस्वरूप उपलब्ध गराएको मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका अध्यक्ष भगिरथ राईले जानकारी दिए ।
अभियानमा स्थानीयवासीले पनि साथ दिएका छन् । उनीहरूले आफैं गमला किनेर घर अगाडि बिरुवा रोपेका छन् । ‘आफ्नो घर सफा भए गाउँ सफा हुन्छ, गाउँ सफा भए नगर सफा हुन्छ’ स्थानीय देवीमाया थापाले भनिन्, ‘यसैका लागि हामी मेचीनगरलाई स्वच्छ, सफा हराभरा र हरियाली बनाउनका लागि स्वतःस्फूर्त रूपमा लागेका हाँै ।’
वातावरण तथा विपद व्यवस्थापनसम्बन्धी नीतिअनुसार ‘हरियालीको शहर, मेचीनगर’ अभियान अन्तर्गत बिरुवा रोपिएको हो । तोकिएको मापदण्ड पूरा गरेका र नगरपालिकाको लगानी भएका बाटोको दुवैतर्फ वृक्षरोपण कार्यक्रमलाई अनिवार्य गरिने नगरपालिकाको दोस्रो नगरसभाको वार्षिक बजेट नीति तथा कार्यक्रममा उल्लेख छ ।
सो कार्य सडकको अभिन्न कार्यको रूपमा जोडिने र त्यसका लागि सडकको लागत अनुमानका क्रममा वृक्षरोपणको लागत अनुमान समेत समावेश गरी फरफारक गर्दा समेत उक्त कार्य भए नभएको ध्यान दिने नीति नगरपालिकाले लिएको बताइएको छ ।
दोस्रो नगरसभाले नगरस्तरीय र वडास्तरीय सडकका दायाँबायाँ मापदण्ड तोकी वृक्षरोपण गरिने र टोल स्तरीय सडकमा समेत वृक्षरोपण गर्न टोल विकास संस्थालाई प्रोत्साहन गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न पनि यो अभियान शुरु गरिएको अध्यक्ष राईले जानकारी दिए ।
उनका अनुसार १०–१० फुटको फरकमा २ सय गमलामा वृक्षरोपण गर्ने योजना अनुसार विश्व सामाजिक दिवसको अवसर पारेर पहिलो चरणमा ८० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
स्थानीयवासीले आफ्नो घर अघिको सडकलाई बाधा पुग्ने गरी निर्माण गरेका विभिन्न संरचना समेत आफैँ भत्काएका छन् । नगरले अघि सारेको स्वच्छ, सफा, सुग्घर र हरियाली नगरको परिकल्पनामा स्थानीयवासी लागेको नगरप्रमुख विमल आचार्य बताउँछन् ।
नगरप्रमुख आचार्यका अनुसार वातावरणमैत्री हरित नगर विकास गर्न घरनक्सा पास गर्दा सङ्ख्या तोकी बिरुवा हुर्काउन अभिप्रेरित गर्ने नीतिसमेत नगरपालिकाले अवलम्बन गरेको छ । नगरवासीको यो कामलाई नगरपालिकाले निक्कै प्रशंसा गरेको छ ।
नगरमा रोपिएका बिरुवा हुर्काउनु र यसको उचित रेखदेखमा आम नगरवासीको भूमिका उत्तिकै हुने हुँदा यसको संरक्षणमा जुट्न वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले सबैमा आग्रह गरेका छन् ।
उनले खुला चौपाया नियन्त्रण गर्न सबैमा अनुरोध समेत गरेका छन् । मेचीनगर नगरपालिका वडा नम्बर६ लाई पर्यटकमैत्री वडाका रूपमा विकास गर्ने उद्देश्यका साथ वडाले शुरु गरेको अभियानलाई समेत यसले टेवा पुग्ने वडाध्यक्ष तामाङले विश्वास व्यक्त गरे ।