धरानः भानु सब्जी तथा फलफूल व्यवसायी समितिको ३१ औं वार्षिक उत्सव तथा साधारणसभा धरानमा सम्पन्न भएको छ ।
वार्षिक उत्सवको उद्घाटन प्रदेश १ की सांसद सावित्री जोशी श्रेष्ठले गरिन् । कार्यक्रममा संस्थाका सचिव राजेन्द्र दर्नालले संस्थाको भावी कार्ययोजना बारे प्रतिवेदन प्रस्तुत गरे ।

त्यस क्रममा उनले देशमा राजनीतिक परिवर्तन भए पनि सब्जी व्यावसायीको अवस्थामा कुनै परिवर्तन नआएको गुनासो गरे । उनले सब्जी तथा फलफूल व्यवसायीको वृद्धि विकासका लागि सम्बन्धित पक्षसँग पहल गर्ने बताए । उपभोक्ताको हितलाई लक्षित गरी आगामी दिनमा धरानका अन्य स्थानमा पनि सब्जी पसल खोल्ने नीति अघि सारेको उनले बताए । यसको व्यवस्थापनको लागि धरान उपमहानगरपालिकासँग पहल गर्ने तयारी रहेको उनको भनाइ थियो ।

संस्थाका कोषाध्यक्ष लालबहादुर खतिवडाले आर्थिक वर्ष २०७५÷०७६ को लागि १६ लाख २६ हजार १ सय ८३ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरे । भानु सब्जी २०४२ सालमा धरान–३ स्थित पालिका बजारमा स्थापना भएको हो । पालिका बजारमा दैनिक २ सय मेट्रिकटनभन्दा बढी सब्जी बिक्री हुँदै आएको संस्थाका सचिव दर्नालले बताए ।

यसै क्रममा भानुसब्जीका पूर्व अध्यक्ष काजी गिरीलाई सम्मान गरिएको छ । संस्थालाई उच्च योगदान पु¥याएको भन्दै भानु सब्जीले गिरीलाई दोसल्ला ओढाई सम्मान गरेको हो । गिरीलाई प्रमुख अतिथि श्रेष्ठ र संस्थाका अध्यक्ष हर्क तुम्रोकले संयुक्त रूपमा दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे । गिरीले २०६२ देखि ०६५ अध्यक्षको कार्यभार सम्हालेका थिए ।

तीन पत्रकार पुरस्कृत
संस्थाले कार्यक्रममा ३ जना पत्रकारलाई पुरस्कृत गरेको छ । ब्लाष्ट टाइम्सका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, हिमशिखर टेलिभिजनका धरान संवाददाता गोविन्द बस्नेत र महाप्रतिवाद साप्ताहिककका प्रधानसम्पादक तारा लामगादेलाई पुरस्कृत गरिएको हो । उनीहरुलाई एमालेका जिल्ला सदस्य मुरारी सुवेदी र समितिका अध्यक्ष हर्क तुम्रोकले पुरस्कार प्रदान गरेका थिए ।

६५ पिन्ट रगत सङ्कलन
भानु सब्जी तथा फलफूल व्यवसायीले रक्तदान कार्यक्रमसमेत गरेको छ । औपचारिक कार्यक्रम शुरु हुनुपूर्व पालिका बजार परिसरमा गरिएको रक्तदानमा ६५ पिन्ट रगत सङ्कलन भएको सचिव दर्नालले बताए । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।

bhanu sabji  (2)