इटहरीः नगरभित्र देखिएको बढ्दो कालोबजारी तथा उपभोक्तामा परेको जोखिमलाई मध्यनजर गर्दै इटहरी नगरपालिकाले उपभोक्ता जागरण कार्यक्रम ल्याउने भएको छ । उपभोक्ता ठगीमा नपरून् भन्ने उद्देश्यका साथ इटहरी उपमहानगरले विभिन्न कार्यक्रम ल्याउन लागेको उपभोक्ता संरक्षण समितिकी प्रमुख तथा उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
समितिको आज बसेको पहिलो बैठकले मुख्य चाडपर्वमा मात्र नभई वर्षभरी बजार अनुुगमनको कार्यतालिका बनाएर बजारको स्वच्छता तथा उपभोक्ता जागरणका कार्यक्रम ल्याउने छ । जसका लागि आसन्न दशंै, तिहार, छठजस्ता पर्वलाई लक्षित गर्दै सडक नाटकदेखि सञ्चार माध्यमको सहयोगमा उपभोक्तालाई सचेत बनाइने भएको छ । जसका लागि पर्चा वितरण, विद्यालय शिक्षा, बजार माइकिङ तथा प्रचार गरिने भएको छ ।
‘उपभोक्ता शिक्षालाई हामीले महत्वपूर्ण पाटो ठानेका छौँ’, गौतमले भनिन् ‘नगर क्षेत्रभित्र कुनै पनि उपभोक्ता ठगिनु नपरोस् भन्नका लागि हामी सचेत छौँ ।’
उनका अनुसार नगरभित्र हटलाइन सेवा सुचारु गर्ने तयारी हुँदैछ । जसमा कोही उपभोक्ता मारमा परे तत्काल सम्पर्क गरी कानुनी उपचारका लागि सहयोग लिन सकिने बताइएको छ । दशैंलाई लक्षित गर्दै बजारको अनुगमनलाई तीव्रता दिइने पनि बैठकले निर्णय गरेको उनले जानकारी दिइन् । खाद्यान्न तथा अन्य अतिआवश्यक वस्तुको बजार अनुुगमन गरी बजारको अवस्थाको बारेमा जानकारी लिइने उनको भनाइ छ ।