विराटचोकः पूर्व पश्चिम राजमार्गको क्षेत्रभित्र बनेका अस्थायी घरटहरा हटाएर सडकको दुवैतर्फ साढे ८२ फिट सडक कायम गरेको सुन्दरहरैंचा नगरपालिकाले सहायक सडक र भित्री सडकमा रहेका अवरोध पनि हटाउन शुरु गरेको छ । आज सो नगरपालिकाले वडा नम्बर ७ को गोठगाउँदेखि विश्वविद्यालय जाने सडकको सफाइ शुरु गरेको हो । सडकको क्षेत्र मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको वडाध्यक्ष चैतन्यप्रसाद सिटौलाले बताए । बिहान ८ बजेदेखि डोजरको सहयोगमा सडकको सफाइ थालिएको उनले बताए ।
किन थालियो भित्री सडकको सफाइ
वडाध्यक्ष सिटौलाका अनुसार सडकको क्षेत्र मिचिएर सडक साँघुरो भएकाले सडकको क्षेत्र कायम गर्न सफाइ अभियान चलाइएको हो । गोठगाउँदेखि उत्तरतर्फ पूर्वाञ्चल विश्वविद्यालयको गेटसम्म झण्डै ३ किलोमिटर सडक छ । सो सडकको चौडाइ ५५ फिट कायम गरी ठाउँठाउँमा ड्रेन पनि निर्माण भएको छ । ड्रेन निर्माण भए पनि स्थानीयले सडकलाई आफूखुशी प्रयोग गर्ने, सडकको दुवै छेउमा मास तथा घाँस (घन्सी) छर्ने गर्नाले सडक साँघुरो भएको छ ।
‘सडक साँघुरो भएकाले दुर्घटनाको जोखिम बढेको छ । चाडबाडको समयमा बढी मात्रामा चोरी हुने गर्छ’, अध्यक्ष सिटौललो भने, ‘बाटो वरीपरी बाक्लै रुखबिरुवा हुँदा अनि सडकमै घाँस र दाल छर्ने हुनाले दुर्घटनाको जोखिम पनि उत्तिकै छ । त्यसैले सडक सफाइ अभियान थालिएको हो ।’
सिटौलाका अनुसार भोलिसम्ममा सो सडकको सफाइ सकिने छ । पूर्व जानकारी दिएर सडक सफाइ गरिएको हुनाले केही ठाउँमा सामान्य अवरोध भए पनि सफाइ अभियानमा कुनै अवरोध नआएको उनले बताए । घुम्ती बाटो भए ठाउँमा दुर्घटना हुने सम्भावना पनि भएकाले बाटो सफाइ गरिएको उनको भनाइ छ ।
बाटो सफाइ अभियानमा स्थानीयले पूर्ण रूपमा सहयोग गरेको उनले बताए । ‘कसैले सडक क्षेत्रभित्र राखेको निर्माण सामग्री वा अन्य केही सामग्री रहेछ भने त्यसलाई पनि सबैले मिलेर हटाइदिनुभयो’, सिटौलाले भने, ‘कतिपय पसलले राखेका सामान थन्क्याउन पनि स्थानीयले सहयोग गरेका कारण कुनै अवरोधबिना नै सडक मर्मत सहज हुन पुगेको हो ।’