इटहरीः धरान र इटहरी बीचको चारकोशे झाडीमा सवारी दुर्घटना हुँदा सञ्चार सम्पर्क हुन नसक्ने अवस्थाको अन्त्य हुने भएको छ । नेपाल टेलिकमले सो क्षेत्रमा टावर बनाएपछि त्यस्तो अवस्थाको अन्त्य हुने भएको हो ।
तरहरादेखि धरानको तीनकुनेसम्मको लगभग १० किलोमिटर जङ्गल क्षेत्रमा फोन सम्पर्क नहुँदा हुने पीडा अन्त्य गर्न मोबाइल टावर बन्न लागेको हो । धरान नगरपालिकातर्फ पर्ने चारकोशे झाडी क्षेत्रकै सेउती पुल नजिक मोबाइल टावर बनाउने प्रक्रिया शुरु भएको छ ।
धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीका अनुसार अत्यावश्यक मोबाइल टावर बनाउने विषयमा सङ्घीय सञ्चार मन्त्री गोकुल बाँस्कोटासँग कुराकानीपछि प्रक्रिया अगाडि बढेको छ ।
‘चारकोशे जङ्गल क्षेत्रमा हुने सञ्चार सम्पर्क विच्छेदले पनि धेरै दुर्घटनाको जानकारी परिवार र आफन्तसँग पुग्न नसकेको जानकारी सञ्चारमन्त्रीसँग गरेका छौँ’, कार्यवाहक मेयर मञ्जु भण्डारीले मोबाइल कुराकानीमा भनिन्, ‘नेपाल टेलिकमसँग प्राविधिक कुरा र मजबुत सुरक्षाको कुरा टुङ्गो लाएपछि टावर बन्ने छ ।’