इटहरीः बलात्कारका विरुद्धमा नेपाल विद्यार्थी सङ्घ जनता बहुमुखी क्याम्पस इकाइ सडकमा उत्रिएको छ । पछिल्लो समय बढ्दै गइरहेका महिला हिंसालगायत बलात्कारका घटनामा राज्यले चासो नदिएको भन्दै नेवि सङ्घले विरोध गरेको हो ।
कञ्चनपुरमा एक बालिकाको बलात्कारपछि हत्या गरिएको विषयमा सरकार मौनजस्तै देखिएकाले आन्दोलन गर्नुपरेको नेवि सङ्घ इकाइ सभापति सहदेव काफ्लेले बताए । बलात्कारीलाई उन्मुक्ति दिने प्रयास सरकारले गरिरहेको र हुनाले नेवि सङ्घ चुप लागेर बस्न नसक्ने उनको भनाइ थियो ।
कञ्चनपुरलगायत देशैभरका छात्राहरू असुरक्षित रहेकाले छात्राको सुरक्षाको माग नेवि सङ्घले गरेको छ । आफ्नै नाता तथा छिमेकीबाट छात्राहरू बलात्कारको शिकार भइरहेको बेला सरकार कानमा तेल हालेर बसेको नेवि सङ्घको आरोप छ ।
सरकारको मौनताले बलात्कारीले प्रश्रय पाइरहेको र छात्राहरू दैनिक त्रासमा बाँचिरहेको नेवि सङ्घ सुनसरीका नेता प्रमोद भट्टराईको भनाइ थियो । ‘कञ्चनपुरमा विद्यार्थी बलात्कृत हुँदा सुनसरीको नेवि सङ्घको मन दुखेको छ,’ उनले भने, ‘सरकारले निरपराधीलाई जेल हाल्छ तर बलात्कारीलाई पक्राउ नगरेर आफ्नो निकम्मापन प्रस्तुत गरिरहेको छ ।’ बलात्कारीलाई पक्राउ गर्न नसक्ने सरकार झन् ठूलो बलात्कारी भएको उनको आरोप थियो ।
विरोध ¥यालीमा जनता बहुमुखी क्याम्पसका २ सयभन्दा बढी विद्यार्थीको सहभागिता थियो । सरकारविरोधी विभिन्न प्लेकार्डसहित निस्केका विद्यार्थीले क्याम्पस अगाडि आधा घण्टा धर्ना दिएका थिए । बलात्कारीलाई प्रश्रय दिएर सरकारले आफ्नो आयु छोट्याइरहेको धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्ने नेवि सङ्घका नेताहरूले बताए ।