विराटनगरः प्रदेश १ सरकारले पहिलो प्रशासनिक कार्यालयको रूपमा कृषि विकास निर्देशनालय सञ्चालनमा ल्याएको छ । यस अगाडि मन्त्रालय बाहेकका अन्य कुनै पनि संरचना नभएको सरकारले विराटनगरमा कृषि विकास निर्देशनालयमार्फत् सेवा प्रवाह शुभारम्भ गरेको हो ।
प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले सोमबार कार्यालयको उद्घाटन गर्दै अब कृषि विकासको क्षेत्रमा काम गर्न सकिने बाटो खुलेको बताए । उनले बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको आफ्नै प्रशासनिक संरचना नहुँदा समस्या हुँदै आएको बताउँदै कृषि विकास निर्देशनालयको उद्घाटनसँगै सरकार कार्यकारी हैसियतमा बढ्न सक्ने अवस्थामा पुगेको बताए ।
कृषि विकास निर्देशनालयको स्थापनासँगै सम्बन्धित मन्त्रालयले प्रशासनिक कार्य बढाउन सक्ने भएको छ । प्रदेशको कृषि कार्यक्रम कार्यान्वयनमा ल्याउने सो कार्यालयमा ३८ कर्मचारीको दरबन्दी कायम भएको कार्यालयका प्रमुख बेनुप्रसाद प्रसाईंले जनाए ।
कार्यालयको उद्घाटनको क्रममा मुख्यमन्त्री राईले ७ महिनापछि मात्रै सरकार गठन भएको अनुभूति भएको बताए । उनले कार्यकारी अधिकार पाएर पनि संरचना अभावमा कार्यक्रम कार्यान्वयन हुन नसक्दा निराशा पैदा हुने डरमा रहेको समेत उल्लेख गरे ।
सरकारले कृषि निर्देशनालयपछि शिक्षा र स्वास्थ्य विकास निर्देशनालय आगामी असोज ११ गते धनकुटामा स्थापना गर्ने तयारी गरिरहेको छ । यी कार्यालयले कार्यान्वयन गर्ने नीति तथा कार्यक्रम र बजेटसमेत अब कार्यान्वयनमा आउने सरकारको दाबी छ ।