झापाः समुद्र सतहबाट ५८ मिटर उचाइमा रहेको नेपालको सबैभन्दा होचो ठाउँ भनिने कचन कवलको स्तम्भमा अब बोटिङमार्फत् पुग्न सकिने भएको छ । कचन कवल क्षेत्रमा रहेको केचना झिल नामक विशाल पोखरीमा बोटिङ चलाएर त्यस्तो व्यवस्था गर्न कचन कवल गाउँपालिका लागि परेको छ । गुगल म्यापमा घोडाको टापजस्तो देखिने यो पोखरीमा बोटिङ सञ्चालन गरेर पर्यटन प्रवद्र्धन गर्ने गाउँपालिकाको कार्यक्रम रहेको छ ।
कचन कवल गाउँपालिकाका सूचना अधिकृत केशव मैनालीका अनुसार यो वर्ष केचना क्षेत्रको विकासमा विनियोजन गरिएको १७ लाख बजेटमा यो कार्यक्रम समेटिएको छ । १० बिघा बढी क्षेत्रफल ओगटेको केचना झिललाई मर्मत गरेर बोटिङ सञ्चालन गर्ने गाउँपालिकाको योजना भएको मैनाली बताउँछन् ।
कचन कवल गाउँपालिकाको वडा नम्बर ४ मा रहेको कचन कवलको विकासको लागि सम्भाव्यता अध्ययन सकिएको छ । पर्यटन मन्त्रालयले पर्यटन विकासमा सहयोग गर्ने आश्वासन दिएको सूचना अधिकृत मैनालीले जानकारी दिए । कचन कवल पुग्ने तीन वटा बाटो सुधार कार्यक्रम यो वर्ष गाउँपालिकाले गरेको छ ।
नेपाल–भारत सिमानाबाट १ किलोमिटर उत्तर अनि पूर्वपश्चिम राजमार्गबाट ३३ किलोमिटर सडक दूरीमा रहेको कचन कवल पुग्ने ३ वटा बाटा छन् । सशस्त्र प्रहरीले सीमा पोष्ट, दशगजा र बनियानी क्षेत्रबाट कचन कवल पुग्न सकिन्छ ।