सङ्खुवासभाः धर्मदवी नगरपालिका कार्यालयमा कार्यरत आन्तरिक लेखा परीक्षक दावा भोटेसहित दुई जना पक्राउ परेका छन् । भोटेसँगै भोजपुरको षडानन्द–१३ स्थायी घर भई हाल चैनपुर–११ बस्दै आएका सौरोज तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
दुवै जनालाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार सभा खोला प्रहरी चौकीले सभा खोला चेक पोष्टमा जाँच गर्ने क्रममा शङ्कास्पद रसिदका ठेली, कागजात र रसिद काटेको रकम फेला परेपछि पक्राउ गरेको हो । प्रहरीको भनाइ अनुसार उनीहरूले जिल्ला समन्वय समितिको नक्कली छाप र बिल प्रयोग गरेको बताइएको छ ।
उनीहरूले जिल्ला समन्वय समितिको निकासीबापतको करको रकम असुलेको प्रमाण भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिए । सौरोजलाई भोटेले काम लगाएको खुलासा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू दुवै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भोटे तत्कालीन जिल्ला विकास समितिका कर्मचारीसमेत हुन् ।