इटहरीः सङ्घीय संरचनाअनुसार अब विश्वविद्यालयलाई प्रादेशिक रूपमै अगाडि बढाइने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयमा विकेन्द्रीकरणको खाँचो रहेको बताएका छन् ।
प्राध्यापक सङ्घ जनता बहुमुखी क्याम्पस इकाइ कार्यसमितिले आयोजना गरेको प्रादेशिक विश्वविद्यालयको अवधारणा सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
प्रादेशिक विश्वविद्यालयको अवधारणाले शिक्षा क्षेत्रमा भइरहेको केन्द्रीकरणलाई हटाउने उनको भनाइ थियो । नेपाल सङ्घीय गणतन्त्रात्मक राज्यव्यवस्थाअनुसार अगाडि बढिरहेको सन्दर्भमा यस्ता बहसहरू जरुरी रहेको उनको तर्क थियो । समाज र राज्यअनुसार शिक्षा प्रणालीमा सुधार हुनुपर्नेमा मन्त्रीको जोड थियो । शिक्षा क्षेत्रमा सुधार गरेर मात्र देशले आर्थिक समृद्धिको सपना पूरा गर्ने उनले बताए ।
कार्यक्रममा जनता बहुमुखी क्याम्पसको वर्तमान अवस्था र भावी रणनीतिको विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । पूर्वका विभिन्न जिल्लाका ३ हजार ५ सय जनाको हाराहारीमा विद्यार्थी अध्ययन गर्ने भएकाले क्याम्पसले आफ्नो गुणस्तर सुधार गर्दै गइरहेको कार्यपत्रमा उल्लेख गरिएको थियो ।
त्यस्तै, प्रादेशिक विश्वविद्यालयको अवधारणाको आवश्यकता र औचित्यको विषयमा पनि अवधारणापत्र प्रस्तुत भएको थियो । भाषाविद् प्राध्यापक डाक्टर टङ्क न्यौपानेद्वारा प्रस्तुत कार्यपत्रमा शिक्षा क्षेत्रमा विकेन्द्रीकरणको खाँचो औंल्याइएको छ । पछिल्लो समय त्रिभुवन विश्वविद्यालय अव्यवस्थित बन्दै गएको र क्षमताअनुसार भूमिका निर्वाह गर्न नसकेको अवधारणापत्रमा उल्लेख गरिएको छ ।
पुराना विश्वविद्यालयले विद्यार्थीको भार थाम्न नसकेर काम नलाग्ने भएका कारण प्रादेशिक विश्वविद्यालयको अवधारणा प्रस्तुत गरिएको उनको भनाइ थियो ।
पूर्वमा सञ्चालित पब्लिक क्याम्पसलाई समेटेर विश्वविद्यालय बनाउन सकिने कार्यपत्रमा उल्लेख गरिएको छ । प्रदेश नं १ को लागि त्रिविजस्तै काम गर्ने अर्को विश्वविद्यालय बनाउन सकिन्छ । न्यौपाने भन्छन्, जसको लागि प्रदेश सरकार र जनताको संयुक्त लगानीमा विश्वविद्यालय सञ्चालनमा ल्याउनुपर्छ । जसको कारण जनताले आफ्नो अपनत्व महसुस गर्नेछन् र विश्वविद्यालय सञ्चालन व्यवस्थित हुन्छ ।
यो आकस्मिक कार्यक्रम नभई दीर्घकालीन योजना भएकाले यस विषयमा सरकार र सरोकारवाला सबै सचेत रहनुपर्ने डा. न्यौपानेको भनाइ थियो ।
कार्यक्रममा बोल्दै पब्लिक क्याम्पस प्राध्यापक सङ्घका इकाइ सभापति अर्जुन उप्रेतीले देश प्रादेशिक संरचनाअन्तर्गत अगाडि बढिरहेको बेला शिक्षानीति पनि सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए । शिक्षा क्षेत्रमा विकेन्द्रीकरण अभ्यास शुरु भएको भए पनि त्यो कामचलाउमात्रै भएको उनको भनाइ थियो ।
‘पुराना क्षेत्रीय विश्वविद्यालयले सम्बन्धन दिने मात्र काम गरेको तर शिक्षाको गुणस्तरमा कुनै सुधार गर्न सकेका छैनन्,’ उनी भन्छन्, ‘हामी पुराना घोकन्ते शिक्षा प्रणालीमा अल्झिएका छाँै । अब अनुसन्धानमा आधारित शिक्षा प्रणाली लागू गर्नुपर्छ । जसको लागि प्रादेशिक विश्वविद्यालयको अवधारणा आवश्यक छ ।’