कालाबञ्जार: कृषिको उर्वर भूमिको रूपमा परिचित सुनसरीमा बाली विज्ञान विषय अध्यापन गराउन शुरु गरिएको छ । एक स्थानीय तह एक प्राविधिक शिक्षालयको राष्ट्रिय नीतिअनुसार बराहक्षेत्र– ५ मा रहेको जगन्नाथ डेढराज जनता (जडेज) मावि कालाबन्जरमा यो वर्षदेखि देखि जिल्लाकै पहिलो सामुदायिक विद्यालयमा बाली विज्ञान विषयको पठनपाठन शुरु भएको हो ।
सरकारको राष्ट्रिय नीतिको मोडलअनुसार मङ्गलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नयाँ विषय पठनपाठनको उद्घाटन गरेका हुन् ।
जडेज माविमा भएको बाली विज्ञान विषय पठनपाठनको उद्घाटनमा बोल्दै मन्त्री पोखरेलले ग्रामीण भेगमा विशेषतामा आधारित प्राविधिक विषयको अध्यापन शुरु हुनु खुसीको विषय भएको बताए ।
‘आधुनिक तरिकाबाट कृषि कर्म गर्ने दक्ष जनशक्तिको अभाव खड्किइरहेको बेला प्राविधिक शिक्षाको आवश्यकता व्यापक रहेको छ’, मन्त्री पोखरेलले शिक्षाको गुणस्तरको विषयलाई जोड्दै भने, ‘शिक्षालय खोल्दै जाँदा शिक्षाको गुणस्तर र प्रयोगात्मक कुरामा जोड दिएर दक्ष शिक्षकहरूले अध्यापन गराउन पनि आवश्यक छ ।’
बाली विज्ञान विषयको ३ वर्षे डिप्लोमा तहका लागि नगरपालिकाको पहलमा सिटिइभिटीसँग सम्बन्धन लिएर जडेज माविमा अध्यापन शुरु गरिएको हो ।
सरकारको ‘एक स्थानीय तह एक प्राविधिक शिक्षालय’ को नीतिअनुरूप बाली विज्ञान पढाइ हुन थालेको हो ।
स्थानीय विद्यालयमै प्राविधिक शिक्षाको कृषि विषय पढाइ हुन थालेपछि स्थानीयहरू समेत हर्षित भएका छन् । पुरानो तरिकाबाट कृषि कार्य गर्दै आएकोमा आधुनिक शैलीमा कृषि विषय पढाइ हुने भएपछि स्थानीय विद्यार्थीहरू पनि आकर्षित भएको विद्यालयका सूचना अधिकारी चेतनाथ भट्टराईले बताए ।
बराहक्षेत्र नगरपालिकाले जडेजमा बाली विज्ञानको अध्ययनका लागि आवश्यक थप पूर्वाधार निर्माणको लागि १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । सो रकम विद्यार्थीका लागि आवश्यक प्रयोगशाला र प्रयोगात्मक कार्यको लागि खर्च गर्न दिएको मेयर नीलम खनालले बताए ।
‘नगर मात्रै नभएर जिल्लाकै एक ठाउँमा मात्र बाली विज्ञान विषयको पठनपाठन हुने भएपछि सुनसरीका विद्यार्थीलाई अध्ययनका लागि जिल्लाबाहिर जानुपर्ने समस्या हट्ने छ’ बराहक्षेत्र नगरपालिकाका मेयर खनालले भने, ‘एउटा स्थानीय तहमा एउटा प्राविधिक शिक्षालयको नीतिअनुरूप कृषियोग्य भूमि भएको यो ठाउँमा नगरपालिकाको विशेष पहलमा शिक्षालय सुरुवात भएको हो ।’
कसले पढ्न पाउँछन् ?
सिटीइभिटीको सम्बन्धन प्राप्त बाली डिप्लोमा तहको विज्ञान विषयमा वार्षिक ४० जना विद्यार्थीको कोटा रहेको छ । एसईई पास गरेका जो कोहीले पनि सिटीइभिटीले लिने प्रवेश परीक्षामा नाम निकालेर अध्ययन गर्न पाउँछन् । ४० जनाको कोटा रहेको उक्त विषयमा ४ जनाले भने छात्रवृत्तिमा अध्ययन गर्न पाउँछन् । छात्रवृत्ति लिन पनि सिटीइभिटीकै परीक्षा पास गर्नुपर्ने विद्यालयका सूचना अधिकारी चेतनाथ भट्टराईले बताए ।
‘पूर्ण शुल्कीय र निःशुल्क दुवै तरिकाबाट पढ्नका लागि सिटीइभिटीकै परीक्षा पास गर्नुपर्छ,’ भट्टराईले भने, ‘फ्रीमा वा पैसा तिरेर कति सङ्ख्यामा विद्यार्थी पढाउने भन्ने सबै काम सिटीइभिटीले नै गर्दछ, हामीले कम या बढी पढाउन पाउने भन्ने हुँदैन ।’
जडेज माविमा यो वर्षको लागि हालसम्म ३१ जना विद्यार्थी भर्ना भइसकेका छन् । पूर्ण शुल्कीय कोटामा ३ वर्षको सो कोर्ष अध्ययन गर्न १ लाख ५० हजार तिर्नुपर्दछ जसलाई ६ किस्तामा बुझाउन सकिन्छ । बाली विज्ञान कोर्षमा बाली उत्पादन, बागबानी, बाली संरक्षण, कृषि प्रसार, सामुदायिक विकास, उद्यमशीलतालगायतका विषयहरूको पढाइ हुने बताइएको छ ।