शारीरिक तथा मानसिक थकानको साथै रातभर सिलिङको पङ्खाको असरको कारण शिथिल भएको शरीरले ओछ्यान छोड्न नमाने पनि निद्राले आँखालाई भने आधा रातमै छोडेर भागिसकेको थियो ।
परीक्षाको हाउगुजीले एक प्रकारको डर हो कि कौतुहलताले हो मन यसै भरङ्ग भइरहेको थियो । अगाडि पढेको पाठ सम्झँदा केही आएजस्तो लागे पनि लेख्ने बेलामा भने पानीमा हिँडेको पाइलाजस्तो दिमागबाट आफसेआफ गÞायब हुन्थे । तापनि कनीकुथी सम्झिने कोशिस गर्दै घरको नियमित काम गर्दै थिएँ । जुन काम बाट एउटी बुहारी वा महिलालाई बिराम नगालुञ्जेल या मृत्युले नढालुञ्जेल शायद छुट्टी मिल्दैन ।
परीक्षा आओस् या पर्व, प्रायः हरेक महिलाले कर्मघरको सङ्घार टेक्नेबित्तिकै गृहस्थीको पहिलो अध्याय चुलो चौकाबाट शुरू गर्नुपर्ने हुन्छ । यो परम्पराबाटै बहु भतेर (बुहारीको हातले बनाएको पहिलो भोज) चुरा बजेको भान्साजस्तो मोहक लेपनयुक्त संस्कारबाट थालनी गरेको एउटा जड नारी दलन हो ।
यसरी शुरु भएको नारीको जीवन त्यही घरको मझेरी र आँगनमा बित्छ । दिनरात, साँझबिहान पैताला खियाएर घरधन्दामा नाच्दानाच्दै र सोही घरको सिंगार र व्यवस्थापनको क्रममा नै कुचोु, मस्कौटो र पोतारोजस्तै खिएर घरमै सकिन्छ । जुन आदिम युगदेखि नै स्थापित पितृसत्तात्मक समाजको संरचनाले मलजल हाली हुर्काएको लैङ्गिक विभेदको एक अटुट फÞेहरिस्त हो ।
शायद हामीले कल्पना गरेको समानताको समाज कतै क्षितिजमा छ । त्यहाँसम्म पुग्न थाहा छैन अझै कति वटा युग पर्खिनुपर्ने हो । जहाँ साढे सात अर्ब मानिसमाथि प्रकृतिले गरेको सुन्दर भेदलाई ‘जेन्डर’को भेदले ध्वस्त पारेको नहोस् ।
पहिलो दिनको परीक्षा नै अङ्ग्रेजÞी विषयको थियो । जुन हामी नेपाली मिडियमबाट सरकारी स्कुल पढेकाहरूका लागि फलामको पहाड खोतल्नुजस्तै थियो । यो अवस्थालाई प्रयासको कमी र अभ्यासको अभावले सिर्जना गरेको हो भन्दा दुईमत नहोला ।
असारको महिना भए पनि मनग्गे पानी परेको थिएन । तराइमा कहिलेकाहीँ बर्खा याममा एकै पटक ७ वटा घाम लागेझैं गरी घाम लागेर खडेरी पर्छ । गर्मीको साम्राज्य बिस्तार हुन्छ भने कहिले एकोहोरो झरीले जमिनको टुक्रा कतै नदेखिने गरी गाउँ शहरमा उन्मत्त बाढी मडारिन्छ । बस्तीहरू डुबानमा पार्छ । कहिले भने वर्षाले बाटो बिराएर जताततै धुलो र मैलोले विध्वंस मच्चाउँछ ं।
एकातिर परीक्षाको चिन्ता अर्काेतिर गर्मीको आतङ्कले आत्तालिएर छातीबाट मुटु नै भाग्ला जस्तो भइरहेको थियो । असरल्ल छरिएको किताब कापीको थुप्रोमा मोबाइल कहाँनेर थियो पत्तो थिएन । अचानक थर्केको भाइब्रेसनले पत्ता लाग्यो । मेरो एउटी सञ्चारकर्मी साथीले फोन गरेकी रहिछिन् । जो मसँगै परीक्षामा सामेल हँुदै थिइन् ।
‘हेलो ! तपाईँ कता ? घरमै हो ?
म त्यहाँ तपाईकोमा आउदैछु ल ।’
क्लासफ्रेन्ड भए पनि उमेरको हिसाबले म उनीभन्दा दिदी थिएँ र मलाई तपाईं नै भन्थिन् । उनले मात्र होइन क्लासका सबैले तपाईं भन्छन् ।
मैले भनेँ, ‘म घरमै छु । ल ल आऊ न त ।’
रुटिनअनुसार दिउँसो १ बजेदेखि परीक्षा शुरू हुने थियो । साथीको फोन आउँदा करिब ११ बजिसकेको थियो । पैदल जाँदा करिब २५ मिनेट लाग्ने दुरीमा हामी आफैँ पढ्ने क्याम्पसमै परीक्षा केन्द्र थियो । १०÷१५ मिनेटमा उनी आइपुगिहालिन् । मैले उनलाई आफ्नो कोठामा लिएर गएँ र पलङको एकापट्टी बस्ने इशारा गरेँ ।
त्यहाँ उनी यसरी थचक्क यसरी बसिन् । यस्तो लाग्थ्यो कि उनी घण्टौँदेखि उभिएर लखतरान परेकी थिइन् । बसेपछी मुखबाट शब्दहरू निस्कनुभन्दा अघि आँखाबाट आँशुको भेल बग्न थाल्यो, गला अवरुद्ध थियो । दायाँ हात भने ब्यागभित्र दौडिइरहेको थियो । ब्याग बाट सानो हरियो सपिङ ब्याग निकालेर मेरो अगाडि राखिन् र भक्कानिँदै बोलिन्,
‘हेर्नु त आज परीक्षाको दिनको पनि ।’
अरु शब्द बोल्न नपाई उनको गला अवरुद्ध भयो । म अलमल्ल परेँ । झोला टिप्दै फर्केर उनको अनुहार हेरेँ । आँखाबाट आँशुको खहरे झन उर्लिेएर आयो । म केहीबेर हिउँजस्तै चिसो भएँ । उनको छातीमा दन्किरहेको पीडाको रापले पग्लिएको वेदना आँखाबाट निकै बेर बगिरह्यो । मलाई त्यो आँशुको बहावले द्रविभूत बनायो र केहीबेर सँगै बग्यौं ।
एकछिन पछि मैले मेरो अगाडि राखिदिएको ब्याग खोलेर हेरेँ । अङ्गे्रजी विषयको पुस्तक र गेसपेपर तथा नोट च्यातिएर हजारौं टुक्रामा विभाजित थियो । त्यो देखेर म एकछिन केही बोल्न सकिनँ । यो कसले गरेको अनि किन गरेको भनेर उनलाई सोधेँ ।
उनी झन् गहिरिएर बग्न थालिन् । उनको पीडाको पहिरोले मेरो मुटु पनि उसैगरी भत्किन थाल्यो जसरी अनायस मौसम परिवर्तनको हिमपहिरोले भत्काउँछ हिमाल । उनी त्यो च्यातिएको पुस्तकका टुक्राहरू छाम्दै निकैबेर भक्कानिइरहिन् ।
त्यस्तो घृणित काम उनकै कर्मघरका अभिभावक भनाउँदा ससुराले गरेका रहेछन् । जहाँ उनले आफ्नो जीवनको ७० प्रतिशत हिस्सा अर्पण गर्नेछिन् । सम्झाउने शब्द नभए पनि सम्झाउने कोशिस गरेँ । यस्तो घृणित काम गर्नेलाई केही त चेतना दिनैपर्छ भनेर उनलाई हिम्मत दिलाउन कोशिस गरँे ।
२१ औं शताब्दीमा जन्मिएर, शहरमै बसोबास गर्ने स्वयम् घोषित चेतनशील प्राणीको बिल्ला भिरेको मानिसको यो घृणित कामलाई चेतनाको कुन तह ठानिन् होला उनले ?
बुहारीले पढ्ने भएकै कारणले यति अपहेलित भएको हो शिक्षाको यो सामग्री ?
के छोराले पढ्ने पुस्तक पनि यसै गर्थे ती बुढा ? छोरा, छोरी र बुहारीमा किन भेद ?
छोराले आमा बुबालाई माया गर्छ भने बुहारीले पनि आफ्नो कर्तव्य पथमा उभिएर दायित्व त निर्वाह गरेकै हुन्छ ।
हुन त म नारीवादी होइन तर बहस र चर्चामा सधँै ताजा र साझा विषय नारी र पुरुषबीच असमानताका विकराल खाडलहरू यथावत छन् । समानताको कुरा अलग्गै छ जुन कुरा संविधानको दस्तावेजÞ, भाषण र औपचारिकतामा मात्र सीमित रहन्छ तर व्यवहारमा कहिल्यै लागू हुँदैन । पुरुषहरू घर र ससुरालीमा उत्तिकै सम्मानित हुन्छन् भने बुहारीहरू घरमा परिवारका अन्य सदस्यहरू जस्तै किन सम्मानित हुँदैनन् ? किन जहिले पनि चौथो दर्जामा राखिन्छ ?
समाजमा छोरी र बुहारीबीच पनि भेदभावका छुट्टै शृङ्खलाहरू निर्माण भइरहन्छन् । यस्तो दरिद्र मानसिकतामा गरिने भेदभावमा महिलाहरू पनि उत्तिकै सहभागी हुन्छन् । यस्ता हजारौं घटनाहरू समाजमा भइरहेका छन् ।
यस सम्बन्धमा मेडेलिन अल्ब्राइटको एउटा भनाइ छ, ‘महिला भएर महिलालाई नै सहयोग नगर्ने महिलालाई नर्कमा एउटा विशेष स्थान सुरक्षित छ ।’ भारतकी महिला अधिकारवादी कमला भासिन भन्छिन्, ‘महिलामाथि दमन र हिंसा घरैबाट शुरु हुन्छ ।’
साँच्चै परिवारबाटै समाजमा हुर्काइएको त्यो विभेदको निस्पट्ट झाडी अनि खण्डहरमा मौलाएको बुट्यानजस्तो झाँगिइरहेको छ । जहाँ छोरीलाई ज्वाइँले घरायसी काममा सहयोग गर्दा छोरी भाग्यमानी र ज्वाइँ ज्ञानी कहिलिन्छन् । त्यही ठाउँमा छोराले श्रीमतीलाई घरायसी काममा सहयोग गर्दा बुहारी महारानी वा मालिक्नी कहलिन्छे भने छोरा जोइटिङ्ग्रे कहलिन्छ ।
कतिपय परिवारमा त्यही छोरीले घरबाहिर समाजमा क्रियाशील हुँदा परिवारबाटै हौसला मिल्छ भने घरका सदस्यहरूमा गुणगानको पात्र हुन्छे । बुहारीले त्यसो गरे नेता वा बाइफालेको संज्ञा पाई ‘धौँतरी मारेको’ ठहरिन्छ । यस्तो विभेद र सङ्कीर्णतालाई प्रवाह नगरी त्यही परिवारको सानोतिनो नै किन नहोस् गर्जो टार्न घामपानी झरी बादलको वास्ता नगरी दिनभर खट्छे मेरी साथी ।
मिहिनेतका पसिनाले घर र भविष्य उजिल्याउने धुनमा चर्को घामको डढाइ र दर्के पानीको कुटाइ सहजै सहन्छे ऊ । विभेदको परकाष्टले सीमा नाघ्थ्यो तर परदेशमा रहेको श्रीमान्लाई सम्झेर चुपचाप तिरस्कार पिएर बस्छिन् । जस्तो उनले यसैमा जीवनको सम्पूर्ण सङ्कल्प र निष्ठा खन्याएकी छिन् । त्यही बुहारीले कमाएको पैसा प्यारो हुने उनले आर्जन गर्न चाहेको शिक्षालाई चाहिँ तिरस्कार गर्ने कस्तो कुरूप मानसिकता ?
अर्की साथी राधा (नाम परिवर्तन) ले पहिलो श्रेणीमा बिए पास गरे तापनि विवाहपछि पढाइ रोकियो । फेरि शुरु गर्ने निकै जमर्को गरे पनि परिवारबाट स्वीकृति पाइन । अहिले ऊ श्रीमान्को परिवारले गर्दै आएको सब्जी व्यापार गरेर बस्न बाध्य छे । त्यस्तै बिएस्सी गरेकी नूतनको ठूलो व्यापारिक घरानामा विवाह भयो । श्रीमान्लगायत जेठाजु स्टाफका सहयोगले व्यापार सम्हाल्छन् । बिहान ६ बजेदेखि रातको १० बजेसम्म नूतन चुलो सम्हाल्दै छे । विवाहपछि उसले पढाइ अघि बढाउने विचारले घरमा कुरा राखी । तर किन पढ्नुप¥यो र ? पढेर पनि पैसा कमाउनु हो त्यो व्यापारबाटै आइरहेको छ भन्ने जवाफ बारम्बार पाइरही । मेरा यी साथीहरू त यो समाजका केही प्रतिनिधि पात्र हुन् ।
समाजशास्त्री जेसी बर्नाडले भनेकी छिन्, ‘विवाहले महिलालाई कमजोर मात्र बनाउँदैन यसले उनीहरूको स्वतन्त्रतालाई घटाउँदै लैजान्छ भने अर्कोतिर पुरुषमा बढी आश्रित पार्दछ ।’ साँच्चै यसपालीे पहिलो दिनको परीक्षापछि उनी मेरो मथिङ्गलमा खुब घुमिरहेकी छिन् । शायद उनी बुहारी नभएर छोरा वा छोरी भएकी भए यसरी मेरो मानसपलटमा आसन जमाउँदिनथिइन् होली । बुहारी भएकै नाताले स्वतन्त्र रूपमा औपचारिक शिक्षा लिन घरैबाट वञ्चित हुन्नथिइन् ।
उनको घरमा किताब, कापी बाहिर देखिने गरी राख्न पनि मनाही छ र पढ्न पनि । आवाज निकालेर पढ्ने उनको बानीमा पूर्णविराम लागेको छ । घरका सबै मस्त निदाएपछि मात्र उनी केही समय पढ्ने गरेको बताउँछिन् । सधैँ मध्यरातमा ब्यँुझिएर पढ्न पनि त कठिन हुन्छ होला ।
दिनभरको धपेडीले थाकेको शरीरलाई विश्राम पनि चाहिन्छ नत्र ढल्न सक्छे । ऊ ढली भने ढल्नेछ उसको सपना अनि ढल्नेछ उसको सङ्कल्प । आवाजविहीनहरूको आवाज भएर हिँड्ने एउटा सञ्चारकर्मीको त अवस्था यस्तो छ भने अरुको त अनुमान गर्न सकिन्छ ।
हाम्रो समाजमा केही अपवादबाहेक एउटी बुहारीको लागि विद्या लिन आत्माबाटै स्वीकृति त्यति दिइँदैन । आफ्नै केही आयस्रोत हुनेले आफँै खर्च गरेर पढ्लान् तर जसको कुनै आयस्रोत छैन ऊ परनिर्भर छ । श्रीमान् वा परिवारमा भने उसले पढ्ने अवसर अति कम पाउँछे या पढ्नको लागि चुनौतीको पहाडहरू निकै छिचोल्नुपर्ने हुन्छ ।
जसरी अहिले आएर छोरा वा छोरी पढाउनु बाबु आमाको पहिलो कर्तव्य हुन्छ त्यसरी ने बिहेपछि बुहारीलाई पनि बाँकी रहेको अध्ययन पूरा गराउने पहिलो कर्तव्य पतिको घरमा कहिल्यै हुँदैन । के बुहारी व्यवहार थाम्ने, चुलाचौका सम्हाल्ने बिना तलबको मुन्सी मात्र हो ? कि वंशको बिउ उमार्ने ब्याड मात्र हो ?
किन वर्जित छ बुहारीको लागि शिक्षा ? २१ औं शताब्दीमा पनि समाजको सोचमा किन परिवर्तन हुन सकेन ? किन थमाइँदैन बुहारीको हातमा किताब, कापी र कलम ?
किन देखाइँदैन जीवन उज्यालो पार्ने शिक्षाको बाटो ? के बुहारी शिक्षाको प्रकाशले उज्यालिँदा उज्यालिँदैन र ऊ बसेको घर ?
हो ऊ बाँचेको संसार उज्यालिन बदलिनु पर्छ सोचाइका सङ्कुचित आयतन लिएर उभिएका सामाजिक संरचनाका जड खम्बाहरू, भत्किनु पर्छ कुसंस्कारको ध्वाँसोले दलिन बलियो हुन्छ भन्ने भ्रम बोक्ने भित्ताहरू ।
छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतनाको बीजबाट बल्लबल्ल मुना हाल्न शुरू गरेको हाम्रो समाजका मानिसले स्वयम् निमोठ्छन् विवेकका पालुवा । बरू वैदिककालमा वर्जित थिएन स्त्रीहरूलाई विद्या । महिलाहरू पनि वेद अध्ययन गर्दथे । वेद अध्ययनपछि ब्रम्हवादिनी भई बस्दथे । विदुषी गार्गी, मैत्रेयी यसका उदाहरण हुन् ।
पुरातन समाजको स्वतन्त्रतालाई सामाजिक बन्धनको आडमा उभिएर हेर्ने सेरोमेनियल आँखालाई दिने जवाफ हुन् विदुषी गार्गी, मैत्रेयी र भिक्षुणी आनन्द । समयको क्रमसँगै साँघुरिँदै गएको पितृसत्तात्मक समाजको सोचले छोरीबुहारीलाई शिक्षाको प्रकाशबाट टाढा राखेको छ । त्यसको अँध्यारोले खर्लप्पै निल्यो हाम्रा आमा र हजुरआमाहरूलाई ।
हाम्री आमा हजुरआमाहरूले पनि पढ्न पाएका भए ? त्यहीँ कति थिए होलान् मेडम क्युरी, जसले आफ्नो परिश्रम खोरिया र भस्मेको माटो उधिन्नमा खर्चिए । त्यसैबाट अन्नरूपी रेडियम निकाली परिवारको पेट र आन्द्राको एक्सरे गरिरहे । त्यहीँ थिए होलान् मार्गरेट थ्याचर जसले चुलो चौका र गाईभैंसी गोठको बागडोर सम्हालेर आफ्नो आकाङ्क्षा, सपना र स्वतन्त्रतामाथि शासन गरिरहे । एलिजाबेथ बिसोपहरू ४ दिवारभित्रको मझेरी र कौसीबाटै वेदनाका अनेकौं शिखरहरू चढी आँशुको साहित्य बगाइरहे होला । मेरीकसोटहरूले दुना टपरीमा, राडीका फ्याङ्लामा, घरको सङ्घारमा र पिँढीमा सिन्का, उन र कमेरो तथा रातो माटोले युग चित्रका रङहरू पोतिरहे । इलाइन एच्. किमहरू हराएको आवाज र बिलाएको अस्तित्व विश्लेषणका ठेलीहरू छातीका सङ्ग्रहालयभर सजाइबसे होलान् ।
सानो विद्रोह गरेरै भए पनि २४ वर्षपछि कलेजको आँगन, कक्षा, कोठा टेक्न पाएको खुशीमा म भने सम्भव भएसम्म समय निकालेर नियमित कलेज जाने गर्दथेँ र अझै जाँदैछु जो सर्टिफिकेटको लागि नभएर सिकाइको लागि हो । परम्पराको दासत्वले रोकिएको मेरो शिक्षाको चाह शायद वर्षौंदेखिको प्यास थियो होला र म त्यो तिर्खाले तानिँदैछु त्यतातिर ।
मेरी साथी भने अहिले पनि तानिएकी छैन । १८ वर्ष अगाडि कोशिस नगरेको होइन तर १०÷११ दिनभन्दा बढ़ी त्यसलाई निरन्तरता दिन सकिन । आजको समयमा पनि एउटा गृहस्थ नारीले आफ्नो लागि समय निकाल्नु चुनौतिपूर्ण नै हुन्छ । त्यसमा पनि औपचारिक शिक्षा आर्जनको लागि त झन् धेरै नारीहरूमा विवाहपछि पूर्णविराम नै लाग्छ । कर्मघर पुगेपछि परिवार, छोराछोरीदेखि अन्य सम्पूर्ण जिम्मेवारीको वजन थामेर अघि बढ्नु नै नारीको जीवनको धर्म मानिन्छ र हाम्रो समाजमा यसैलाई जिन्दगीको पूर्णता पनि ठानिन्छ ।
थोरै भाग्यमानीहरू हुन्छन् जसलाई पतिको घरमा पनि औपचारिक शिक्षा लिन शिक्षण संस्थामा जान पति र परिवारबाट अनुमति प्राप्त हुन्छ । यस्ता केही उदाहरण छन् तर यसले डेढ करोड नेपाली महिलाको प्रतिनिधित्व गर्न सक्दैन ।
छोरीलाई पढायो भने बिग्रिन्छ भन्थे, बुहारीको त झन् के कुरा ?
त्यस बेलाको समाजमा शिक्षाको उज्यालो र समानताको आकाश सबैलाई बराबरी भए योगमायाहरूले जसरी पितृसत्ताको साम्राज्य विरुद्ध विद्रोहको शङ्खघोष गरी कोशीमा हाम फालेर जलसमाधि लिनुपर्ने थिएन होला । जुनसुकै विषयमा विवाहित महिलालाई धेरै पाबन्दीहरू हुन्छन् ।
औपचारिक शिक्षा आर्जनका लागि त झन् धेरै नारीहरूको हकमा पूर्णविराम नै लागेको हुन्छ । ससुराल पुगेपछि घरपरिवार सन्तान आदिको हेरचाह र व्यवहारको वजन थामेर घिस्रिनु नै नारीको जीवनको धर्म मानिन्छ र समाजमा यसैलाई नारीको पूर्णता पनि ठानिन्छ ।
पूर्व नेपालको झापा जिल्लाको गोलधाप गाउँबाट हरेक गाउँ समाज र शहरले त्यो शिक्षा लियोस् जहाँ बुहारी पढाउने अभियान नै शुरु भएको छ । सलाम छ गोलधापका बुहारीका लागि शिक्षा अभियानका अभियन्ताहरूलाई । किनकि पृथ्वीको हरेक मानिसको जीवन नारीबाटै सिर्जना भएको हुन्छ । बुहारी पनि त्यही नारी हो, जो सृष्टिको प्रथम चिनारी हो ।