विराटचोकः ८३ औं वसन्त पार गरे पनि अझै आफूलाई जवान ठान्ने वरिष्ठ गायक एलपी जोशीले स्टेजमा ‘म कहाँ बुढो भएको छु र ? ४ कोरी ३ वर्ष मात्र त पुगेको छु नि’ भन्दा पूरै हल नै हाँसोले गुञ्जियो ।सङ्गीतले आफूलाई थप उर्जा दिएको अनि नयाँ ठाउँमा पुगेर यसरी रमाइलो गर्न पाउँदा आफू झन् जवान भएको भनी उनी अनुभव सुनाउँदै थिए ।
रेडियो सुसेलीको ‘नझरेका फूलहरू’ नामक रेडियो कार्यक्रमले आफ्नो १३ औं शृङ्खलाअन्तर्गतको पलेंटी साँझले जोशीसँग साक्षात्कार गर्ने अवसर जुराएको थियो । यसपटकको पलेँटी साँझमा वरिष्ठ पूर्वेली गायक तथा सङ्गीतकार जोशीलगायत गायक हेमन्त शर्मा, यमुना पराजुली, स्रष्टाद्वय तारा पराजुली र मीनकुमार नवोदित श्रेष्ठलाई प्रस्तुत गरेको थियो ।
अरुबेला खालि देखिने उद्योग वाणिज्य सङ्घ कोशीहरैंचाको सभाहलमा खचाखच भरिएको थियो । कार्यक्रममा उपस्थित भएकालाई बस्ने ठाउँको व्यवस्थापन गर्न आयोजकलाई धौधौ परेको थियो । पछिल्लो पुस्ताका लोकप्रिय गायकको नाममा ‘हेमन्त शर्मा सुमधुर साँझ’ नाम दिइएको भए पनि कार्यक्रमका आकर्षण भने गायक जोशी नै बने ।
कार्यक्रमका प्रमुख अतिथि जोशीले आफ्नो ८३ वर्षे पाको उमेरको पर्वाहै नगरी गाउँदै नाचेको देख्दा सबैलाई उत्साहित तुल्याएको थियो । उनले आफ्नो ‘रिटिङ रिटिङ नबजाऊ बिनायो...’ बोलको पुरानो गीत ट्रयाकबिनै गाउँदा उपस्थित दर्शकले पनि साथ दिएका थिए । गीतका अतिरिक्त उनले कविता पनि वाचन गरेका थिए ।
कार्यक्रम सङ्गीत तथा साहित्यप्रेमी दुवैका लागि महत्वपूर्ण रहेको थियो । गायक जोशी, हेमन्त शर्मा र यमुना पराजुलीले गीतमार्फत् उपस्थितको मन जितेका थिए । साहित्यकार तारा पराजुली र मीनकुमार नवोदितले सिर्जनामार्फत् स्याबासी बटुले । साहित्कार नवोदितले ‘देशको नाममा’ र ‘शासक भगवान्’ शीर्षकका आफ्ना २ वटा कविता वाचन गरेका थिए भने तारा पराजुलीले ‘अस्वीकृत उपहार’ र ‘गिटी कुट्ने केटी’ शीर्षकका २ वटा कविता वाचन गरेकी थिइन् ।
साहित्य, कला र सङ्गीतको संरक्षण र संवद्र्धनको उद्देश्य लिएको रेडियो कार्यक्रमले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसभन्दा अघि पनि राष्ट्रिय स्तरका कलाकार तथा स्रष्टाहरूलाई सम्मानको कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
गीतकार तथा सुन्दरहरैंचा – १० का वडाध्यक्ष राजेश थापाले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा तिला लेकाली, धनकुटे कान्छा, धनजीत पराजुली, जेबी थुलुङ, गणेश लामा आँशु, दुर्गा पराजुली, टेकराज एक्चाई मगरलगायतका स्रष्टा उपस्थित थिए ।
‘नझरेका फूलहरू’का प्रस्तोता केपी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम सन्तोष वान्तवाले सञ्चालन गरेका थिए ।