दुहबीः सुनसरीको दुहबी– ५ स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा मङ्गलबार राति साढे ११ बजे आगलागी भएको छ । विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने बताइएको छ ।
आगलागीमा करिब १ करोड बढीको सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान गरिएको संस्थाका अध्यक्ष मिलिराम चौधरीले बताए । आगलागीबाट संस्थाको कागजपत्र, कम्प्युटर, फर्निचरलगायतका सामान जलेर नष्ट भएका छन् ।
विराटनगरका २ वटा तथा इटहरी, इनरुवा दुहबीबाट १–१ वटा गरी ५ वटा दमकलले ४ घण्टापछि पूर्ण रूपमा आगो निभाएको दुहबीका वारुण यन्त्र इञ्चार्ज प्रतापचन्द्र राजवंशीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय दुहबीका इन्चार्ज रामनारायण माझीले विद्युत सर्ट भएर आगलागी भएको पुष्टि गरे । कार्यालयका सम्पूर्ण कागजातसहित कम्प्युटर र फर्निचर कामै नलाग्ने गरी जलेको उनले जानकारी दिए । संस्थामा नगद नरहेको हुनाले नगद भने जोगिएको उनले बताए । ‘कति क्षति भयो हामी बुझ्दैछौँ । क्षतिको अन्तिम विवरण आउन समय लाग्छ,’ उनले भने ।
भोलिदेखि संस्थाको पछाडिको भवनबाट सामान्य कारोबार गरिने संस्थाका अध्यक्ष चौधरीले जानकारी दिए ।